Saturday, June 9, 2012

खुल्ला दिसामुक्त अभियान
घोषणा हुन्छ, अनुगमन हुँदैन
खेमराज वली
सुर्खेत, २७ जेष्ठ ।

जिल्लालाई सन २०१५ सम्म खुल्ला दिसामुक्त घोषणा गर्ने उद्देश्य अनुरुप जिल्लामा अभियान संचालन भएको छ । खुल्ला दिसामुक्त घोषणा अभियान अन्तरगत जिल्लाका १२ गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । खुल्ला दिसामुक्त घोषणा भएपनि त्यसको अनुमगनको कार्य भने हुन सकेको छैन् ।
खुल्ला दिसामुक्त घोषणा गर्नु अघि विभिन्न चरणमा चेतनामूलक गतिविधि, कार्यक्रमहरु संचालन गर्ने गरिन्छ तर घोषणा पछि त्यसको बारेमा अनुगमन प्रभावकारी नहुँदा घोषणा उलंघन भएको अभियानताहरुको भनाई रहेको छ ।
पक्की शौचालय सहित खुल्ला दिसामुक्त घोषणा भएका गाविसहरुको अनुगमन नहुँदा घोषणा फितलो भएको खुल्ला दिसामुक्त अभियानकर्मी तथा प्रशिक्षक विनोद लम्सालले बताए । उनले भने ‘खुल्ला दिसामुक्तको लहरमा सबैले कच्चीनै भएपनि चर्पी बनाउँछन् । तर अनुगमन संयन्त्र नहुँदा पछिल्लो घोषणा उलंघन भएको हुन सक्छ ।’
गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त घोषणा गर्नुभन्दा पहिले वडा स्तरीय, गाविस स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन गर्ने गरिन्छ । गठन गरिएने समन्वय समिति संचालन निर्देशिका, भूमिका, जिम्मेवारी, काम, कर्तव्य र अधिकारका बारेमा स्पष्ट कुनैपनि व्यवस्था नहुँदा गाविस सचिवहरु अन्यौलमा पर्ने गरेका छन् ।
केहि महिना अघि घोषणा गरिएको सालकोट गाविसका गाविस सचिव एवंम समन्वय समितिका अध्यक्ष तिलकराम अधिकारीले जिल्ला विकास समितिलेनै खुल्ला दिसामुक्त घोषणा र त्यसका बारेमा जिल्लाबाटै भूमिक, जिम्मेवारी सहितको निती बनाई कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले भने ‘खुल्ला दिसामुक्त घोषणा त भयो तर त्यसको अनुगमन हुन सकेको छैन् । घोषणा गरिएका गाविसहरुको जिल्ला स्तरबाट पटक पटक अनुगमन गरिनुपर्छ ।’ घोषणापछि अनुगमन नहुँदा निर्माण गरिएका पक्की शौचालय पनि प्रयोग नभएका र कच्ची शौचालय पनि भत्किएको अवस्थामा रहेको स्थानीयबासीन्दाको भनाई रहेको छ ।
जिल्लामा संचालन भएको खुल्ला दिसामुक्त अभियानलाई सफल पार्न गाविस सचिवहरुले प्रत्येक गाविसको बार्षिक बजेटबाट २० प्रतिशत विनियोजन गर्ने प्रतिवद्धता गरेका छन् । जिल्लाका सम्पूर्ण गाविस सचिवहरुकाबीचमा आयोजना गरिएको दुई दिने क्षमता अभिवृद्धि गोष्ठी पछि सचिवहरुले आ–आफ्नो गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने मिति सहित कार्ययोजना निर्माण गरेका थिए । उक्त प्रतिवद्धता कार्यान्वयन भएको छैन् । गाविसको कूल पुँजीगत बजेटबाट कम्तिमा २० प्रतिशत रकम सरसफाई प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न छुट्याउने गाविस सचिवहरुले प्रतिवद्धता गरेका थिए । गाविसले कार्यक्रम संचालनका लागि अन्य आर्थिक स्रोत जुटाउन पहल गर्नुका साथै आवश्यक संख्यामा दुतको व्यवस्था गर्ने सचिवहरुले प्रतिवद्धता गरेका थिए । गाविस सचिवहरुले गरेको प्रतिवद्धता कार्यान्वयन नहुँदा जिल्लाको सरसफाई अभियान प्रभावित भएको छ । घर घरमा चर्पी निर्माण गरी खुल्ला ठाउँमा दिसा पिसाव गर्ने गलत बानिलाई सुधार गर्न अभियान संचालन गरिएको हो । मध्यपश्चिमाञ्चल विकास क्षेत्र र सुर्खेतको जिल्ला स्तरमा छलफल सहित कार्ययोजना निर्माण गरिएको थियो । सुर्खेतका गुमी, जर्वुटा, दशरथपुर, दहचौर, बाबियाचौर, रतु, लेखफर्सा र सालकोट गरी १२ वटा गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।
खानेपानी आयोजनाको २० प्रतिशत रकम सरसफाइमा लगानी गर्ने जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिले निर्णय गरेको छ । खानेपानी आयोजना सञ्चालन भएको समुदायमा सरसफाइलाई प्राथमिकता दिने, खानेपानी आयोजिना सम्पन्न हुँदा शतप्रतिशत घरधुरीमा शौचालय सुनिश्चित गर्ने लगायतको रणनिती तयार गरिएको छ । त्यसैगरी विद्यालय, स्वास्थ्य चौकीहरु र सार्वजनिक भवनहरु निर्माणगर्दा शौचालय समेत निर्माण गर्ने, जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिले चर्पी निर्माणका लागि व्यक्ति÷समुदायलाई प्रदान गरिने सहयोग रकममा एक रुपता कायम गर्ने, न.पा.÷गा.वि.स. मार्फत खानेपानी सरसफाई सम्बन्धी स्थानीय श्रोतव्यक्ति तयार गर्न तालिम कार्यक्रम सञ्चालन गर्ने र सबै न.पा.÷गा.वि.स.हरुमा सिएलटिएस पद्धति लागु गर्ने समेत योजना बनाईएको छ ।
उत्तरगंगा गाविस, सालकोट, छिन्चु लगायतका कम गाविसहरुले मात्रै प्रतिवद्धता अनुसारको रकम विनियोजन गरेका थिए । सालकोट गाविस खुल्ला दिसामुक्त घोषणा भैसकेको छ भने अन्य दुई गाविस सहित लाटीकोइली गाविस पनि खुल्ला दिसामुक्त घोषणाको तयारीमा रहेका छन् ।
लाटीकोइली गाविसका सचिव नवराज थापाले बजेट बिनियोजनमा राजनीतिक दलका प्रतिनीधिको भूमिका महत्वपूर्ण हुने बताउँदै पहिले राजनीति दलका प्रतिनीधिहरुलाई सरसफाईका विषयमा जानकारी गराउनुपर्ने बताए । उनले ‘भने हामी त सरसफाईका विषयमा प्रतिवद्ध छौं तर गाविसको सर्वदलिय संयन्त्रमा हुने प्रतिनीधिहरु भने बजेट छुट्टयाउँदा बाटो, विद्यालयलाई प्रमुख प्राथमिकता दिने गरेका छन् ।’

No comments:

Post a Comment