Saturday, June 30, 2012

रू. १० करोडको परोपकारी अक्षय कोष स्थापना अपिल

रवीन्द्र मिश्र
Facebook.com/RabindraMishra.Nepal
के राम्रो कामलाई प्रोत्साहित गर्ने, नेपालका लागि सांच्चिकै केही गरौं भन्ने, नेपाल लगायत विश्वभरी १ लाख रूपैयां दिन सक्ने १,०००, या ५० हजार दिनसक्ने २,०००, या २५ हजार दिनसक्ने ४,००० हजार या १२ हजार ५०० दिनसक्ने ८,००० नेपालीहरु छैनन् होला? अवश्य छ्न्। विदेशमा बस्ने नेपालीहरू मात्र ३० लाख रहेको अनुमान गरिएको छ भने विदेशमा रहेका नेपाली संघसंस्थाहरूको संख्या हजारौं छन्। नेपालमा राम्रा कामका लागि कतिपय ब्यक्तिहरूले लाखौं सहयोग गरेका छन् भने कतिपय संघसंस्थाहरूले अझ धेरै रकम संकलन गरेका छन्। त्यस्ता मनकारी नेपाली ब्यक्ति र संस्थाहरू प्रशस्त छन् भन्ने हाम्रो आफ्नै अनुभवले पनि राम्रैसंग देखाइसकेको छ।
हामीले नेपाली-नेपालीबाटै करोडौं रूपैयां जम्मा गरेर नेपालका गाउंहरूमा सयवटाभन्दा बढी परोपकारी कामहरू गरिसकेका छौं। हामीले यसै हप्ताबाट नेपाली-नेपालीको सहयोगमा कम्तिमा दश करोड रूपैयांको ‘हेल्प नेपाल परोपकारी अक्षय कोष’ स्थापनाको एउटा महत्वाकांक्षी अभियानमा शुरू गरेका छौं। अभियान शुरू गरेको पहिलो दिनमैं जीवा लामिछाने (रूस), डा मबि सिंह (अमेरिका) र शैलेस गंगोल (अमेरिका) बाट एक/एक हजार डलर र कपिल थापा (जपान) बाट रू १ लाख प्राप्त गरिसकेका छौं। त्यसमा म स्वयंले पनि रू १ लाख थपेको छु।

यस्ता काम गर्दा कतिपय मानिसहरूलाई संका-उपसंका लाग्नु र कतिपयले नकारात्मक टिप्पणी गर्नु एकदमै स्वभाविक हो। तर त्यसो गरिहाल्नु अगाडि एकपटक हेल्प नेपाल नेटवर्कको वेभसाइट (हेल्प नेपाल डट नेट) मा हामीले नेपाली-नेपालीको सहयोगबाट गरेका राम्रा कामका बारेमा हेरिदिनुभए अनि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा. उपेन्द्र महतो र सिंगो देशले नै सम्मान गर्ने अन्य कतिपय नेपालीहरुले किन दिल खोलेर हामीलाई सहयोग गरे होला भनेर एकपल्ट सोचिदिनुभए हुनेथियो भन्ने मेरो विशेष आग्रह छ। थप जानकारीका लागि हेल्प नेपाल नेटवर्क-नेपालका अध्यक्ष अरूण सिंह बस्नेतलाई फोन नम्बर (००९७७) ९८५१०७०८६० मा या मलाई नेपालको समय विहान १२ बजे अघि फोन नम्बर (००९७७) ९८५१११२७२० मा सम्पर्क गर्न सक्नुहुनेछ।

यो एउटा नौलो र चुनौतिपूर्ण प्रयोग हो। नेपाली-नेपाली मिल्दा यस्ता अशोचनीय काम गर्न सकिन्छ भनेर देखाउन खोजिएको एउटा प्रयास हो, जुन ढिलो या चांडो सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौं। त्यसैले, विश्वभरी रहेका खान पुग्ने र दिन पुग्ने, अनि नेपाललाई मायां गर्ने नेपालीहरूलाई नेपालको स्थितिप्रतिको अलिकति पीडा र त्यसैसंग जोडिएको अलिकति भावुकता र अलिकति अपेक्षाका साथ हामी यो अपिल गर्दैछौं। यो सन्देश सन्सारभरका फेसबुक प्रयोग गर्ने दशौं लाख नेपालीहरूकहां पुगोस् भन्ने हामी चाहान्छौं। आर्थिक सहयोग गर्न असमर्थ साथीहरूले यो सन्देश पढेर ‘लाइक’ मात्र होइन ‘श्यर’ पनि गरिदिनुभयो भने हाम्रो लागि ठूलो सहयोग हुनेछ। किनभने, सकभर बढी नेपालीकहां पुगेमात्र बढी सहयोग प्राप्त हुने संभावना रहन्छ।

हेल्प नेपाल नेटवर्क के हो ?



तपाईंहरू मध्ये धेरैलाई थाहै छ हेल्प नेपाल नेटवर्क: नेपालका लागि महिनाको एक डरल कोष विश्वका विभिन्न देशमा बस्ने नेपालीहरूको सबभन्दा ठूलो परोपकारी सञ्जाल हो। हामी विदेशी दाता होइन, सन्सारभरका नेपाली ब्यक्ति र नेपाली संस्थाबाट कोष संकलन गरेर गाउंगाउंमा समुदायलाई सहयोग पुग्ने शिक्षा, स्वास्थ्य र आपतकालीन राहतको क्षेत्रमा काम गर्दछौं। ‘नेपालका लागि नेपालीले गरौं’ हाम्रो नारा हो। हामी अन्तराष्ट्रिय गैर-सरकारी संस्थाहरूबाट दशौं लाख डलर सहयोग संकलन गर्न सक्ने क्षमता राख्दछौं तर हाम्रो मूल लक्ष नेपाली ब्यक्ति र नेपाली संस्थाको साथ लिएर नेपालीको मनमा परोपकारी भावनाको अभिबृद्धी गर्नु हो। र, त्यस्ता नेपालीहरू नेपाल लगायत विश्वभरी छरिएका छन् भन्ने हामीलाई थाहा छ। कल्याणकारी सहयोगबाट हामी प्रशासनिक काममा एक पैसा पनि खर्च गर्दैनौं।

त्यो हाम्रो सबभन्दा ठूलो विशेषता हो। हाम्रो कार्यालय संचालनका लागि विश्वका विभिन्न देशमा बसेका २५ जना नेपालीले दिएको झण्ड ७५ लाख र काठमाडौंस्थित युवा उद्यमी सिद्धार्थ राणाले एकैपटक दिएको एक करोड रूपैयांको हेल्प नेपाल प्रशासनिक अक्षय कोषस्थापना गरेका छौं। त्यसैको ब्याजबाट हाम्रो प्रशासनिक कामहरू चल्दछ।

हामीले के गरेका छौं ? तपाईंहरू मध्ये कतिपयले आजसम्म हामीलाई गर्नुभएको सहयोग र देखाउनुभएको विश्वासका कारण हामीले नेपालका गाउंहरूमा ४० वटाभन्दा बढी स्कूल, ४० वटाभन्दा बढी पुस्तकालय निर्माण गरिसकेका छौं। धुलिखेलमा ४० जना असाहाय बालबालिकाका लागि जग्गाको पनि हिसाब गर्दा करोडौंको लागतमा निर्माण गरिएको एउटा ठूलो बाल आश्रय अब छिटै संचालनमा आउंदैछ। हामीले मुगुको विकट मुर्मा गाउंमा हेल्थपोष्ट संचालन गरेका छौं भने सिरहामा अर्को हेल्थपोष्ट निर्माण गर्दैछौं। तपाईंहरूकै सहयोगका कारण हामी हालै तराइका शीतलहर तथा अग्नी पीडितलाई उलेख्यरूपमा सहयोग गर्न सझम भयौं। चितवनको कान्दा गाउंका चेपांगहरूलाई सहयोग गर्न १० लाख ५० हजार रूपैयां जम्मा भैसकेको छ।

अक्षय कोष र ‘परोपकारी स्तंभ’को उद्देश्य

यी सबै राम्रा कामलाई कालान्तरसम्म कायम राख्न, अझ ब्यापक बनाउन, नेपाली-नेपालीको बीचमा परोपकार र सदभावको भावना बढाउन र त्यसलाई संस्थागत गर्न हामीले १० करोड रूपैयांको मूल धन भएको हेल्प नेपाल परोपकारी अक्षय कोष स्थापना गर्ने महत्वाकांक्षी लक्ष लिएका छौं। यो सुन्दा अपत्यारीलो लाग्ला तर नेपाली-नेपालीबाटै यस्तो काम संभव छ भन्ने विश्वास हामीले नलिएको भए आज हामीले एक करोड ७५ लाख रूपैयांको हेल्प नेपाल प्रशासनिक अक्षय कोष स्थापना र नेपालका गाउंगाउंमा करोडौंका राम्रा कामहरू गरेका हुने थिएनौं।

हामीलाई आशा छ, भाडाको फ्ल्याटमा बसेको हेल्प नेपाल नेटवर्कको कार्यालयलाई कुनै दिन कुनै मनकारू नेपालीले एउटा घर दान दिनेछन्। अनि त्यो घरअगाडि बगैंचामा हामी एउटा ‘परोपकारी स्तंभ’ निर्माण गरेर सो स्तंभको वरिपरी १० करोड रूपैयांको अक्षय कोष स्थापनाका लागि सघाउने सबै नेपालीको नाम र सहयोग रकम अंकित गर्न चाहान्छौं। सो कोष स्थापना पश्चात बनेका हरेक विद्यालय, पुस्तकालय, स्वास्थ्य चौकी या बाल आश्रय ती सबै मनकारू नेपालीको सहयोगको परिणाम हो भन्ने सन्देश हामी दिन चाहान्छौं। त्यो स्तंभलाई अलि सक्ने नेपालीले अलि नसक्ने नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको प्रतिक बनाउन चाहान्छौं। हामीलाई सहयोग र विश्वास गर्न हामी तपाईंलाई आग्रह गर्दछौं।

विभिन्न जात-जाति, भाषा-भाषीका नेपाली ब्यक्ति तथा संस्थाहरूले सहयोग गरेपछि हामीले भविष्यको कुनै विन्दुमा निर्माण गर्ने त्यो भब्य ‘परोपकारी स्तंभ’ कति सुन्दर र विविधताले भरिपूर्ण हुन्थ्यो होला! अनि त्यसबाट कति धेरै राम्रा काम गर्न मात्र होइन, नेपालीहरूमा कति धेरै परोपकारी भावनाको पनि अभिबृद्धी गर्न सकिन्थ्यो होला?

सहयोगको उपाय
हामी किन यस्तो अभियानमा जुटेका छौं, त्यो ब्याख्या गर्न यो लेखसंगै छापिएको एउटा झुपडीमा चलेको स्कूलको तस्वीर नै काफी छ। म डोटी र दार्चुलाका अत्यन्त नाजुक स्कूलहरूमा पढेर हुर्किएको हुं भने तपाईंमध्ये धेरैले पनि यस्तै खालका स्कूलहरूमा पढ्नुभएको हुनुपर्दछ। त्यो नभए पनि यस्ता स्कूलहरू देखेर तपाईंको मन काटिएको हुनुपर्छ। अक्षय कोष स्थापना भएपछि यस्तो विद्यालय देख्यो कि त्यसलाई सहयोग गरिहाल्न सकौं भन्ने हाम्रो चाहाना हो। त्यसैले यो १० करोड रूपैयांको हाम्रो महत्वाकांक्षी र एतिहासिक अभियानलाई साथ दिनुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ। सहयोग दखिला गर्न निम्न बैंक ठेगाना प्रयोग गर्न अनुरोध गर्दछौं।

A/C Name: Help Nepal Network. A/C No: 3501017500185. Swift Code: NARBNPKA. Bank

Address: Nabil Bank Limited, Chabahil, Kathmandu, Nepal.

व्यक्तिगत या संस्थागतरूपमा तपाईंहरूले गर्नुभएको सहयोग प्राप्त भएपछि हामी मेरो र हेल्प नेपाल नेटवर्कको फेसबुक पेजमार्फत र केहीपछि हाम्रो वेबसाइटमार्फत जानकारी दिंदै जानेछौं। हामीले नगरे, कसले गर्ने? अहिले नगरे, कहिले गर्ने? सबैलाई खान पुगोस्, दिन पुगोस्!

No comments:

Post a Comment