Friday, June 8, 2012


एकीकृत विकासले गाउँको मुहार फेर्न सकिने

आकाश तारा बयक
सुर्खेत, २६ जेष्ठ ।
एकीकृत विकासलेमात्र गाउँहरुको मुहार फेर्न सकिने कृषि विकास मन्त्रालयका सचिव नाथुप्रसाद चौधरीले बताउनु भएको छ । शुक्रवार सुर्खेतको कुनाथरी गाविस स्थित बड्डीचौरमा पशु सेवा उपकेन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै चौधरीले सुर्खेतमा कृषि र पशुपालनमा सरकारको लगानी सकरात्मक रहेको बताए । 
उनले अब एकल प्रयासले मात्र विकास गर्न नसकिने भएकाले सबै क्षेत्रको संयुक्त लगानीबाट अगाडी बढ्नु पर्नेमा जोड दिए ।  सुर्खेतको बड्डीचौर पशु र तरकारीलागि उर्वरभूमी रहेको भन्दै सकरात्मक सोचका साथ सरोकारवाला र जनता मिलेर काम गरे गाउँको विकास गर्न समय नलाग्ने चौधरीको भनाई छ । 
त्यस्तै कृषि विकास मन्त्रालयका उपसचिव प्रभाकर पाठकले तराईमा फल्ने तरबुजा सुर्खेतको बडड्ीचौरमा किसानले फलाएको देख्दा यो देशको ताकत किसानको हातमा रहेको बताए । उनले भने, मेहनत गरे के हुन्न, ‘माटोको ताकतलाई चिन्न सके माटो पनि सुन हुन्छ । 
जिल्ला विकास समितिको ३ लाख, कुनाथरी गाउँ विकास समितिको १ लाख ५० हजार, जिल्ला पशु सेवा कार्यालयको १ लाख र त्यति नै बराबरको  ५० प्रतिशत जनश्रमदानद्वारा पशु सेवा उपकेन्द्रको दुई कोठे भवनको निर्माण भएको हो ।  

निर्माण हुँदा यस क्षेत्रका करिव ४ गाविसका ५० हजार कृषक प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । हाल उपकेन्द्रमा संचालित खसी बोका संकलन केन्द्रबाट वार्षिक १८ देखि २० हजार खसी बोका देशका विभिन्न ठाउँहरुमा निर्यात हुने गरेको कुनाथरीका गाविसका पूर्व गाविस अध्यक्ष ताराकेशर गौतमले बताए । 
उनका अनुसार अहिले यहाँका कृषक ३० वटा उन्नत जातका गाई भारतबाट निर्यात गरेर मनग्य आम्दानी गरिरहेका छन् । विद्युतिकरणको अभावमा उत्पादन गरेको दुध संकलन गरी वीरेन्द्रनगर बजारतर्फ ल्याउन समस्या रहेको पूर्व  गाविस अध्यक्ष गौतमले बताए ।
उनले यस क्षेत्रमा पशु विमा नहुँदा कृषकले गरेको लागि लगानी डुव्ने डरले अन्य कृषकहरु समेत गाई पालन व्यवसाय गर्न हच्किएको बताए । साथै कृषिजन्य उत्पादनको ढुवानी गर्ने साधनको अभावले उत्पादित वस्तुहरुको निर्यात गर्न नसकिरहेको जनाईएको छ ।

पशुसेवा उपकेन्द्र कुनाथरीमा कृत्रिम गर्भादान सेवा सुरु भएपछि गत बर्ष २९ वटा उन्नत जातका गाईको संख्या बढेको थियो । यो बर्ष पुनः ५० वटा गाईको संख्या थपिएको केन्द्रका प्रमुख मोहन गिरीले बताए ।
उनले कुनाथरीमा मध्यपश्चिमकै नमूना बाख्रा विकास केन्द्र फर्म निर्माणको अन्तिम तयारीमा रहेको जानकारी दिए । बसी, बोका संकलन हाट बजार, घाँस विकास र पशु बधशाला आवश्यक रहेको जनाईएको छ ।
स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले सुर्खेत पश्चिमको मुख्यद्धार कुनाथरी गाविस रहेकाले यहाँ उत्पादित कृषि जन्य पदार्थले बजार सहज रुपमा पाउने बताए । सुर्खेत–जुम्ला सडकले छोएका कारण कुनाथरी गाविसमा कृषि र पशुपालन व्यवसाय फस्टाउँदो अवस्थामा रहेकाले एक गाउँ एक उत्पादनमा गर्नुपर्नेमा उनले जोड दिए । मासु जन्यमा खशी, फलफुलमा आँप र नगदेबालीमा बसार खेतीलाई जिल्लाले नै प्रमुखताका साथ सहुलियत दिएको स्थानीय विकास अधिकारी रेग्मीको भनाई थियो । सामूहिक रुपमा व्यवसायीक योजना सहित जिल्ला विकास समितिमा आएमा तुरुन्तै २५ हजार रकम अनुदान किसानहरुलाई दिन सकिने उनले जानकारी दिए ।

No comments:

Post a Comment