Thursday, June 28, 2012

सन्तानब्बे प्रतिशत खेत बाँझै
सुर्खेत, १४ असार ।
समयमा बर्षात नहुँदा रोपाई प्रभावित भएको छ । धान उत्पादन हुने क्षेत्रको करिब तीन प्रतिशत जमिनमा मात्रै धान रोपिएको छ भने सन्तानब्बे प्रतिशत खेत अँझैपनि बाँझैरहेको छ । विगतका बर्षमा यस समयसम्म २५ प्रतिशतबढी खेतमा धान रोपाई भैसकेको हुन्थ्यो ।
जिल्लामा विगतमा १३ हजार आठ सय हेक्टरमा धान रोपिएको भएपनि यो वर्षमा भने कम क्षेत्रफलमा धान रोपिने भएकोले धान उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत विजयकुमार गिरीले बताएका छन् ।

हाल सम्ममा पनि जिल्लामा तीन प्रतिशत मात्रै धान रोपिएको र जिल्लामा आवश्यकता अनुसार रासायनिक मल समेत उपलब्ध हुन नसकेकोले यो समस्या आउने बताए । धान ढिलो रोपिने भएकोले यस्तै अवस्था भएमा विगतको भन्दा करिब ५०–६० प्रतिशतले धान उत्पादनमा कमी आउने उनको भनाई छ । मकै बालीमा समेत ६०–७० प्रतिश उत्पादन कम हुने उनले बताए । गत वर्ष जिल्लामा ३७ हजार एक ४० मेट्रिक टन धान उत्पादन भएको थियो ।
हालसम्ममा जिल्लाका चिङ्गाड खोलाको पानीले भेटाउने केही स्थानहरुमा मात्रै धान रोपाई भएको छ । सबै भन्दा बढि धान लगाइने उपत्यकाको कुनै पनि स्थानमा धान रोपाई हुन सकेको छैन् । रोपाई गर्ने समयमा पानी नपरेर समस्यामा परेका किसानहरुलाई मलको समेत अभाव हुने संकेत देखिएको छ । जिल्लामा करिब एक हजार पा“च सय मेट्रिक टन मलको आवश्यकता भएपनि हाल यो आवश्यकता पूर्ति गर्न समस्या हुने देखिएको छ । जिल्लामा हाल डिएपि मलको अभाव देखिन लागेको कृषि सामाग्रि कम्पनी लिमिटेड उप–शाखा सुर्खेतका कार्यालय प्रमुख नौलसिंह वोगटीले बताएका छन् ।
उनले तत्कालका लागि चार सय मेट्रिक टन डिएपि आपूर्ती गर्ने लक्ष्य भएपनि दुई सय पा“च टन आएको र वितरण भई सकेको बताए । अन्य आवश्यक मल भने यसै महिनाको अन्त्यमा आउने भने पनि हालसम्ममा खरिद नभएका कारण समयमै आउने संका भएको वोगटिको भनाई छ ।
त्यस्तै यूरिया आठ सय मेट्रिक टन आपूर्ति गर्ने लक्ष्य भएपनि ६ सय २६ मेट्रिक टन आएको र यूरियाको भने अभाव नभएको कार्यालय प्रमुख वोगटिले बताए । एक सय ७३ मेट्रिक टन पोटास वितरण गर्ने लक्ष्य राखिए पनि यो पनि ३० टन मात्रै आएको उनले बताए । हाल सम्ममा एक करोड ३७ लाख ६० हजार डिएपि, एक करोड ६३ लाख बीस हजार यूरिया र सात लाख ७२ हजारको पोटास खरिद गरिएको हो । मल भ्यालीका केही स्थानहरु र जिल्लाका पूर्वका केही गाविसमा विक्रि भएको हो । जिल्लाका विभिन्न ४७ वटा सहकारी मार्फत मलको वितरण गरिएको छ ।
यता जिल्ला कृषि विकास कर्यालयका वरिष्ट कृषि अधिकृत गिरीले भने रासायनीक मलको अभाव खट्किएकोले सरकारले पनि अनुदान थेग्न नसक्ने भएकोले कृषकहरुले विकल्पको रुपमा प्राङ्गारीक मलको प्रयोग गर्न सक्ने बताएका छन् ।
उनले गोठे मल, असुरु, ढैचा, हरियो मल लगायतका मलहरुको प्रयोग गरेर पनि धान उत्पादन बढाउन सकिने बताए । उनले प्राङ्गारीक मलले तत्कालका लागि नभएपनि निरन्तर प्रयोग गरेमा उत्पादन समेत बढ्ने बताए । रासायनीक मलले केही समयका लागि मात्रै काम गर्ने र प्राङगारीक मल लामो समय सम्ममा स्थाइत्व हुने बताए ।

विरोध स्वरुप सडकमै रोपाई
मल र विउको समस्यामा परेका कृषकहरुले बिहिबार विरोध जनाएका छन् । समयमा रोपाई गर्न नपाएका कृषकहरुले समयमानै तत्कालि मल र विउको प्रवन्ध मिलाउन भन्दै सडकमै रोपाई गरेको छन् । ‘हामीलाई मल र विउ चाहियो भनेर सांकेतिक विरोध जनाएका हौं सरकारले हाम्रो माग सुनुवाई नगरे हामी जिल्लाका सम्पूर्ण कृषकहरु कृषि औजार सहित सडकमा उत्रिन्छौं’–जिल्ला कृषि सहकारी संघका अध्यक्ष अमृत वि.सी.ले बताए ।
प्रत्येक बर्ष जस्तै यस बर्ष पनि रोपाईको सिजनमा किसानहरुले मल र विउ नपाएको बताए । उनले भने ‘एक त किसानहरु पानी नपर्दा समस्यामा छन् अर्को तर्फ सरकारले पनि अनुदानको नाममा कृषकलाई ठगिरहेको छ ।’

वीरेन्द्रनगरको नेता चोकमा सडकमै धान रोपाई गरेका थिए । आयोजित कोण सभामा बोल्दै अखिल नेपाल किसान महासंघ सुर्खेतका अध्यक्ष विनोद गिरीले यस पटकको धान दिवसपनि रोपाई विहिन हुने बताए । ‘सडकमै भएपनि धान दिवस मनाउँछौं ।’
रासायीनिक मल, उन्नत वीऊ विजन, तथा किटनासक औषधी तत्काल अनुदान दिनुपर्ने भन्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाइएको छ । जिल्ला कृषि संघ, अखिल नेपाल किसान संघ, खाध्य अधिकार सञ्जाल, अखिल नेपाल किसान महासंघ, जल उपभोक्ता महासंघले संयुक्त रुपमा जिल्ला प्रशासन मार्फत विहीबार प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका हुन ।
उनीहरुले नेपाल सरकारले अनुदान दिँदै आएको रासायनीक मलको तुरुन्त व्यवस्था गर्नुपर्ने, सुर्खेतमा शित भण्डारका आवश्यक पर्ने बजेट यो आर्थिक बर्षको बजेटमा समावेश गर्नुपर्ने लगायतका १३ बुँदे माग राख्दै ज्ञापनपत्र पेश गरेका छन् ।
साथै बजारमा विक्रि गरिरहेका मलहरुको गुणस्तरीयता जा“च गरिनुपर्ने, कृषि औजार र साधान आयातमा पूर्ण रुपमा भन्सार छुट गरिनुपर्ने, कृषि उत्पादकत्व बृद्धिका लागि कृषिलाई व्यावसायीकरण, वैज्ञानिकरण र सहकारिकरण गर्नुपर्ने, उत्पादन किसानका प्रतिनिधि सामेल गरी किसान बोर्ड निर्माण गरिनुपर्ने लगायतका मागहरु समेत उल्लेख गरिएको छ ।
किसानहरुको तर्फबाट पेश गरिएको ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले प्रधानमन्त्री कार्यालयमा तत्काल पठाउने र जिल्लाको समस्याका बारेमा आफु जिम्मेवारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाए ।

No comments:

Post a Comment