Sunday, June 10, 2012

बेरोजगार हुनुहुन्छ ? गँड्यौला पाल्नुस
काठमाण्डौं, २८ जेष्ठ ।
सुन्दा अचम्म लाग्ला गँड्यौलाको पनि खेती हुन्छ भन्दा । तर अचम्म नपर्नुस गँड्यौला खेती गरेर तपाई ‘लाखौ’ कमाउन सक्नुहुन्छ । नेपालमा गँड्यौला व्यवसाय गर्न थालेको त्यति धेरै भएको छैन तर यसमा लागेकाले छोटो समयमै मनग्गे आम्दानी गरिसकेका छन् ।
काठमाडौंका २५ बर्षिय अशोककुमार भट्टराईले बि.ए. पास गरेपछि गँड्यौला खेती गरे । काठमाडौंको रामकोटमा उनको गँड्यौला फर्म नै छ । उनीसित अरु तीन जना साथीहरु पनि यही पेशामा जमेका छन् ।
दश किलो गँड्यौलाबाट सुरु गरेको भट्टराईको फर्ममा अहिले पन्ध्र टन गँड्यौला छन् । एक किलो गँड्यौला तीन हजारमा बिक्रि हुन्छ । गँड्यौलाको मलको राम्रो बजार छ । तरकारी उत्पादन र फलफुलमा गँड्यौला र यसको मल प्रयोग हुन्छ । अशोककुमारका अनुसार यो पेशामा धेरै किशोर किशोरी लागेका छन् ।

‘लगानी पनि त्यति धेरै गर्न नपर्ने, सडेगलेका फोहोर गँड्यौलालाई दिएपछि मल र फोहोर व्यवस्थापन पनि हुने हुँदा यसको आकर्षण हो’, उनले भने । गँड्यौलाका कारण प्रकृतिमा पर्ने अनुकूल प्रभाव र आयआर्जनमा गँड्यौलाको महत्वका बारेमा छलफल गर्न आइतबार काठमाडौंमा भएको गँड्यौला सम्मेलनमा गँड्यौलाका फाइदा, प्रकार र पालन गर्ने तरिकाको बारेमा चर्चाभयो ।
कम्पोष्ट मल बनाउने उत्तम माध्यमका रुपमा रहेको गँड्यौला पालनको महत्वबारे जानकारी गराउन यसका व्यवसायी, प्रयोगकर्ता र विज्ञहरु सम्मेलनमा सहभागिता छ । ‘गँड्यौला पालनका चुनौती र अप्ठ्यारा के छन् भन्ने कुराको जानकारी लिई गँड्यौला पालनलाई व्यवसायीक रुपमा विकास गर्नका लागि विज्ञ सहितको सम्मेलन गरेका ग्लोबल पिस एशोशिएसनका अध्यक्ष डाक्टर किशोर राजभण्डारीले जानकारी दिए ।
बढ्दो फोहरमैला व्यवस्थापन पनि हुने र कम्पोष्ट मलको अभाव पनि टार्न सकिने भएकाले पछिल्लो समयमा शहरी क्षेत्रमा गँड्यौला पालन बढ्दै गएको छ । नेपालमा पालिएका गँड्यौला चाँही बिदेशबाट ल्याइएका हुन् । इटली र भारतबाट गँड्यौला ल्याएर व्यवसाय सुरु गरेको गँड्यौला विज्ञ डा. आनन्द शोभा ताम्रकारले बताए । अहिले काठमाडौं, बिराटनगर लगायतका शहरमा किशोर किशोरीले गँड्यौला खेती गरेका छन् ।
ताम्रकारका अनुसार काठमाडौंका प्रायजसो घरमा गँड्यौला खेती हुन्छ । ताम्रकारले भने, ‘मैले नै चार पाँच हजार जनालाई गँड्यौला पाल्ने र बिक्रि गर्ने तरिकाबारे तालिम दिएकी छु ।’ यो पेशामा अहिले बेरोजगार र कृर्षि पढेकाको जमात बढेको उनले बताए ।

No comments:

Post a Comment