Tuesday, June 26, 2012

पशुपालनबाट महिलाहरु आत्मनिर्भर
दीपेन्द्र वली
सुर्खेत,  असार ।

समूहमार्फत पशुपालन गरेर सुर्खेतका पिछडिएका महिलाहरु आम्दानीतर्फ उन्मुख भएका छन् । सुर्खेतका अवलचिङ्ग, गर्पन, साटाखानी, रतु, गढि, लेखगाउँ र जर्वुटा गरि सात वटा गाविसका महिलाहरु पशुपालन गर्नतर्फ लागेका हुन् ।
युरोपियन युनियनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेत र साप नेपाल बाँकेले समूहमार्फत बाख्रा र भैँसी वितरण गरेका थिए । गरिव, विपन्न तथा द्वन्द्वपिडित महिलालाई छनोट गरि सञ्चालन गरिएको महिला समूहको सशक्तिकरण मार्फत सामुदायिक शान्ति प्रवद्र्धन कार्यक्रम अन्तरगत जिल्लाभर ७० वटा समूह बनाइएको कार्यक्रम संयोजक खिम रेम्मीले जानकारी दिए ।
बाख्रा र भैँसी वितरण भएपछि सात गाविसका एक हजार सात सय ४१ जना महिला आम्दानीउन्मुख भएको उनले जानकारी दिए । आयआर्जनको पाटोलाई मात्र नहेरी द्वन्द्वपिडित तथा उत्पिडित महिलालाई सीपमुलक र क्षमता विकासका तालिमहरु पनि दिएको रेग्मीको भनाई छ ।
अघिल्लो वर्ष बैशाखदेखि सामूदायिक शान्ति प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको हो । अन्य गाविसमा बाख्रा मात्र वितरण गरिएको भएपनि जर्वुटा गाविसमा भने सात वटा भैँसी पनि वितरण गरिएको थियो । सदरमुकाम वीरेन्द्रनगर बजार नजिकै भएको तथा भैँसीका लागी प्रयाप्त र उचित वातावरण भएकाले भुमिसरा चँदरा, विमला नेपाली लगायत आवद्ध भएको समूहलाई भैँसी वितरण गरिएको हो ।
नमुना महिला शान्ति समूह जुर्वटाका महिलाले घरमा पालेको भैँसीले दिएको दुध विक्री गरेर आम्दानी गरिरहेका छन् । यता, आफ्नो समूहका एक जना सदस्यलाई ६६ सय रुपैयाँमा किनेर दुई वटा बाख्रा वितरण गरिएको र एक वर्षको अवधिमा करिव दुई गुणा फाइदा भइसकेको महिला जागरण शान्ति समूह अवलचिङ्ग–७ का अध्यक्ष विर्मा वि.क. ले बताए ।

No comments:

Post a Comment