Saturday, June 9, 2012

सुर्खेतमा अदुवा र बेसार प्रशोधन उद्योग 
दीपक बुढा
सुर्खेत, २७ जेष्ठ ।

जेष्ठ महिना भित्रै आर्गानिक कृषि उपज प्रशोधन उद्योग सञ्चालनमा आउने भएको छ । उद्योग मार्फत यस क्षेत्रमा उपलब्ध हुने अदुवा र बेसार संकलन, भण्डार, प्रशोधन र बजार व्यवस्थान गरिने भएको छ । उज्वल बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगरले उक्त उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
व्यावसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) सल्लाघारी काठमाण्डौंको अनुदान सहयोग र संस्थाकै केही रकमले उद्योगको सञ्चालन गर्न लागिएको उप–आयोजना व्यवस्थापक नन्दराम शर्माले जानकारी दिए । उद्योगका लागि जम्मा ४० लाख ७१ हजार पाँच सय लगानी गरिएको छ । जसमध्ये व्यावसायीक तथा कृषि आयोजनाले उद्योग सञ्चालनका लागि १७ लाख ६२ हजार दुई सय अनुदान सहयोग गरेको छ भने सहकारीले २३ लाख नौ हजार दुई सय लगानी गरेको छ ।
यही महिनादेखि नै सञ्चालन गर्ने तयारीमा रहेको र आवश्यक मेसिनहरु पनि ल्याइसकेको व्यवस्थापक शर्माले बताए । एक लाख ७० हजार पाँच सय लागतको एफ.एफ.एस मेसिन (धुलो बनाउने), १२ हजारको प्याडल सेलर, एक लाख बीस हजारको ग्रेडर मेसिन र १२ हजारको इलेक्टोनिक तराजुको खरिद संस्थाले गरिसकेको छ ।
उद्योग कालागाउँमा सञ्चालन गरिने बताइएको छ । उद्योग सञ्चालनका लागि मेसिन जडान गर्ने तयारी समेत भएको बताइएको छ । साथै मेसिन चलाउने अपरेटरहरु आएपछि उद्योग तत्कालै सञ्चालन गरिने उनले बताए । उद्योग सञ्चालन पश्चात प्रशोधन गरिएका वस्तुहरुलाई प्याकिङ्ग गरेर बजार सम्म लैजाने बताइएको छ ।
उद्योगको स्थापनामा सबै भन्दा पहिला यस क्षेत्रमा प्रसस्त मात्रामा पाईने अदुवा र बेसारका प्रशोधन गरिने बताइएको छ । उद्योग सञ्चालन हुने निश्चित भएपछि सहकारीले अदुवाको पनि संकलन गरेको छ । संस्थाले हालसम्ममा प्रशोधन प्रक्रियाको लागि एक सय २० क्वीन्टल अदुवा संकलन गरेको हो । साथै वेसारको पनि प्रशोधनका लागि संकलन गरिने बताइएको छ ।
यस क्षेत्रमा उत्पादन हुने अदुवा, वेवसार लगायतका वालीले मुल्य नपाउने भएकोले प्रशोधन उद्योगको आवश्यक भएको हो । अदुवाको भण्डारण गर्ने ठाउँ पनि नभएको र लामो समय सम्म भण्डार गरेर राख्न नसकिने भएकोले सस्तो मुल्यमा विक्रि गर्न कृषक वाध्य भएका छन् । अदुवाका लागि मध्यपश्चिमको सल्यान सबै भन्दा बढी प्रख्यात रहेको छ । त्यस्तै सुर्खेत, दैलेख, प्यूठान, जाजरकोट लगायतका स्थानहरुमा पनि अदुवाको उतिकै उत्पादन हुने गरेको छ ।
यस क्षेत्रमा उत्पादन भएको बेसार, अदुवा, आँप, खशी, बोका बाहय जिल्ला निकासी हुने गरेको छ । बाँके, बर्दिया, पोखरा, विराटगनर, बुटवल, काठमाण्डौं लगायतका जिल्लामा यस क्षेत्रमा उत्पादित खशी, बोका, बेसार, अदुवा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालयको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सुर्खेतको पश्चिम क्षेत्रमा वेसारको समेत राम्रो उत्पादन हुँदै आएको छ । जिल्ला विकास समितिले सुर्खेतले समेत कृषि उत्पादनलाई प्रोत्साहन नीति लिएको छ । फलफुलमा आँप, पशुपालनमा बाख्रा, मसलाबालीमा अदुवा र बेसार खेतीलाई प्रोत्साहन गर्न विशेष अनुदानको व्यवस्था गरिएको स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
कृषकहरु सामूहिक योजना सहित आएमा आँप, बेसार र अदुवा खेती तथा बाख्रापालन व्यवसाय संचलन गर्न चाहने कृषक समूहहरुलाई २५ हजार सम्म अनुदानको व्यवस्था गरिएको स्थानीय विकास अधिकारी रेग्मीले बताए ।
जडिबुटी प्रशोधन केन्द्र अन्यौलमै
नेपालकै ठूलो जडिबुटी संकलन तथा प्रशोधन केन्द्रका लागि उपत्यका नगर विकास समितिले जग्गा दिन नसक्ने बताएपछि प्रशोधन केन्द्र निर्माण अन्योलमा परेको छ । सरकार र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा निर्माण गर्न लागिएको केन्द्रका लागि नगर विकास समितिले निःशुल्क जग्गा उपलब्ध गराउन नसकिने जनाएको छ ।
व्यापारिक प्रयोजनका लागि केन्द्र स्थापना गर्न लागिएकाले निःशुल्क जग्गा दिन नसकिने समितिका अध्यक्ष ईश्वरभक्त सुनारले बताए । उनले भने,‘व्यापारिक प्रयोजनका लागि निर्माण गर्न लागिएको प्रशोधन केन्द्रबाट उपत्यका नगर विकास समितिले लाभ लिन नसक्ने भएकाले जग्गा दिन नसकिएको हो ।’ भाडामा भने जग्गा दिन सकिने उनले बताए ।
राजनीतिक दलहरुले नगर विकासले जग्गा उपलब्ध गराउने भन्दै केन्द्र स्थापनाका लागि लगानी भित्रयाउन खोजे पनि विकास समितिको बोर्डमा कुरा नभएकाले केन्द्रले जग्गा नपाएको हो । जग्गाको टुंगो नलाग्दा केन्द्र निर्माण कार्य अन्योलमा परेको छ । सरकारले केन्द्रका लागि विनियोजन गरेको ६० लाख रुपैया“ पनि फ्रिज हुने सम्भावना बढेको छ । ८३ लाख रुपिया“मा निर्माण गर्ने भनिएको केन्द्रका लागि सरकारले ६० लाख रुपिया“ छुट्याइसकेको छ । बा“की २३ लाख रुपिया“ उद्योग वाणिज्य महासंघले छुट्याउनुपर्ने बताइएको छ ।
असार मसान्तसम्म केन्द्रको भौतिक संरचना निर्माण कार्य सुरु गरेमात्रै सरकारले अर्को वर्ष पनि बजेट विनियोजन गर्नेछ । असार मसान्तसम्म निर्माण कार्य सुरु नगरे रकम फ्रिज हुने र केन्द्र पनि अन्यत्रै सर्ने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए । उनले तत्काल जग्गा भाडामा लिएर निर्माण गर्न सकिने अवस्था पनि नरहेकाले नगर विकासस“ग आठ कठ्ठा जग्गा निःशुल्क माग गरिएको बताए । जग्गा निःशुल्क दिन नसकिने नगर विकास समितिबाट जानकारी प्राप्त भएकाले सहुलियत दरमै भएपनि भाडामा लिएर उद्योग स्थापनाको पहल थाल्ने बताए ।

No comments:

Post a Comment