Sunday, June 17, 2012

म.प. विश्वविद्यालयका दर्जनौं काम सुरु
२५ विषयको पाठ्यक्रम निर्माण जारी
पञ्चबर्षिय कार्ययोजना निर्माण
साईन्स एण्ड टेक्नोलोजिको भवन निर्माण सुरु
सुर्खेतमा राष्ट्रिय स्तरको जलस्रोत अध्ययन केन्द्र र व्यवसायीक ट्रेडिङ सेन्टरको प्रस्ताव
१५ सय सैयाको टिचिङ हस्पिटल निर्माण गर्न चिन सकारात्मक
८ अर्व लगानीको भौतिक पूर्वाधार निर्माण गर्न भारत सकारात्मक

दीपक बुढा÷सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले एकै पटक दर्जनौ कामको सुरुवात गरेको छ । केही काममा पूर्णता दिएको छ भने धेरै काम सुरुवात चरणमा रहेका छन् । पाठ्यक्रम निर्माणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसंग समन्वय गरी नमूना विश्वविद्यालय बनाउन पहल थालिएको म.प. विश्वविद्यालयका उपकुलपति डा. पदमलाल देवकोटाले बताए । आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी विश्वविद्यालयका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
विश्वविद्यालयको रणनीतिक पञ्चबर्षिय योजना र चार वटै संकायको शैक्षिक क्यालेण्डर निर्माण कार्य पुरा गरिएको जनाईएको छ । विश्वविद्यालयको शैक्षिक नीति समेत तयार भएको छ । विश्वविद्यालय लक्ष्य, उद्देश्य, कार्यक्रम, नीति सहितको पञ्चबर्षिय कार्ययोजना तयार गरिएको हो । मध्यपश्चिमका १५ जिल्लाको विज्ञान र प्रविधिको विकासमा योजना तयार गरिएको छ ।

विभिन्न तीन चरणमा योजना निर्माण गरिएको छ । प्रत्येक जिल्लामा एउटा साईन्स क्याम्पस स्थापना गर्ने र तीन वटा उच्च माविमा साईन्स विषय अध्यापनको सुरुवात गर्ने योजना बनाईएको छ । पहिलो चरणमा हुम्ला, जुम्ला, मुगु, जाजरकोट जिल्ला, दोस्रो चरणमा दैलेख, कालिकोट, प्यूठान, सल्यान, रोल्पा, रुकुम जिल्ला र तेस्रो चरणमा दाङ, सुर्खेत, बाँके र बर्दिया जिल्लालाई राखिएको जनाईएको छ ।
‘अन्तर्राष्ट्रिय सहयोग जुटाउनेदेखि नयाँ आर्थिक बर्षमा धेरै बजेट विनियोजन गराउन हामी जुटेका छौं’–उपकुलपति डा. देवकोटाले भने ‘विश्वविद्यालयलाई एसियामै नमूना बनाउन हामी त्यसै अनुसारका पाठ्यक्रमको निर्माण गरी अध्ययनको सुरुवात गर्ने गरी अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय विस्तार गरिरहेका छौं ।’
साउन महिनादेखि कक्षा संचालन गर्ने गरी काममा तिव्रता दिईएको छ । जिल्लाका वीरेन्द्रनगर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस समायोजनमा सहभागि नभएपनि विश्वविद्यालयले भवन भाडामा लिएर भएपनि कक्षा संचालन गर्ने जनाईएको छ ।
चालु आर्थिक बर्षमा सरकारले दुई करोड ७१ लाख रकम विनियोजन गरेको थियो । उक्त बजेटबाट विश्वविद्यालयको साईन्स एण्ड टेक्नोलोजिको ६ करोड लागतको शैक्षिक भवन निर्माणको प्रक्रिया सुरु भएको छ । मध्यपश्चिम विश्वविद्यालयले सुर्खेतमा राष्ट्रिय स्तरको जलस्रोत अध्ययन केन्द्र र व्यवसायीक तालिम केन्द्र संचालनार्थ शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, अर्थ मन्त्रालयमा प्रस्तावित कार्यक्रम पेश गरिएको छ ।
चालु आर्थिक बर्षदेखि कक्षा संचालन गर्ने गरी कर्मचारी, प्राध्यापक दरबन्दी, भौतिक संरचना निर्माणमा धेरै भन्दा धेरै बजेट विनियोजनका लागि शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, विश्वविद्यालय अनुदान आयोगमा कार्ययोजना पठाईएको हो ।
आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति डा. देवकोटाले भारत र चिन सरकारसंग मैत्रीपूर्ण सहयोगका लागि पहल थालिएको जानकारी दिए । भारतसंग ८ अर्ब लगानीको भौतिक पूर्वाधार निर्माण र चिन सरकारसंग १५ सयको शैयाका टिचिङ हस्पिटल स्थापना गर्न पहल थालिएको बताए । ‘चिन र भारत सहयोग गर्न इच्छुक छन् । अन्य देशसंग पनि शैक्षिक तथा भौतिक सहयोगका लागि पहल थालेका छौं’ नेपाल र बाह्य देशमापनि दुर्लभ तथा लोकप्रिय रहेका विषयमा अध्यापन कार्य सुरु गरिने जनाईएको छ ।
स्नातकतह को चार बर्षे अध्यापनका लागि पाठ्यक्रम निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्वविद्यालयको आगामी आर्र्थिक बर्र्षको बजेट तथा कार्यक्रम विश्वविद्यालय अनुदान आयोगमा पठाईएको छ । भौतिक पूर्वाधार, जनशक्ति, प्रशानिक खर्च सहित ६१ करोड बजेट तथा कार्यक्रम आयोगमा पेश गरिएको हो । बजेट स्वीकृत भएलगत्तै विश्वविद्यालय भित्रको सेवा आयोगको स्वीकृति लिएर साउन महिनामा खुल्ला विज्ञापन गरी विभिन्न संकायका प्राध्यापक, प्रशासनिक कर्मचारीको पदपूर्ती गरिने छ । ८ सय ९ जना दरबन्दी माग गरिएको छ ।
आगामी आर्थिक बर्र्षका लागि कुल ६१ करोड बजेट प्रस्ताव गरिएको छ । विश्वविद्यालयका नीति तथा कार्यक्रम, दरबन्दी, बजेट तयार गरी विश्वविद्यालय अनुदान आयोग, अर्थ मन्त्रालयमा पठाई सकिएको छ । भौतिक पूर्वाधारतर्फ मात्रै ३५ करोड १६ लाख बजेट माग गरिएको छ । बजेट विनियोजनका लागि पहल थाल्न विभिन्न राजनीतिक दल, जिल्लाबासी, नागरिक समाजसबैसंग अनुरोध गरिएको छ ।

विश्वविद्यालयमा पूर्णता
सुर्खेत, ३ असार ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालले पूर्णता पाएको छ । विश्वविद्यालयमा चार जना डिन सहित विश्वविद्यालय सेवा आयोग अध्यक्षको समेत नियुक्ति भएको छ । मानविकि तर्फ डिन पीताम्बर ढकाल, साईन्स एण्ड टेक्नोलोजितर्फ डिन डा. केशरसिंह राना, व्यवस्थापन तर्फ डिन डा.मस्तबहादुर गरंञ्जा र शिक्षा विज्ञान तर्फ डिनमा लालमणि आचार्य नियुक्त भएका छन् ।
डिनको नियुक्ति विश्वविद्यालयका उपकुपति प्रा.डा. पदमलाल देवकोटाले गरेका हुन् भने विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा डा. नवराज कँडेललाई मन्त्री परिषदले नियुक्ति गरेको हो । आयोगलाई विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति र बढुवा सम्बन्धी कार्य अधिकार हुन्छ ।
आयोगमा लोकसेवा आयोगका एक जना प्रतिनीधि र शिक्षकहरुमध्येबाट एक जना सदस्य रहने व्यवस्था रहेको छ । विश्वविद्यालयको कार्यकारी परिषद समेत गठन गरिएको छ । उपकुलपति डा. पदमलाल देवकोटाको अध्यक्षतामा डिन डा. केशरसिंह राना सदस्य र रजिष्ट्रार डा. ठकेन्द्रप्रसाद गिरी सदस्य–सचिव रहेको परिषद गठन गरिएको जनाइएको छ ।

No comments:

Post a Comment