Tuesday, June 12, 2012

वादी समूदाय बाख्रा पालनबाट आत्मनिर्भर बन्दै  
खेमराज वली
सुर्खेत (छिन्चु), ३० जेष्ठ ।

सुर्खेत छिन्चु–८ मदानेचौरका वादी समूदायका महिलाहरु बाख्रा पालनबाट आत्मनिर्भर बन्न थालेका छन् । मदानेचौरको वादी समुदायमा रहेका २२ घरधुरीमध्ये १५ घरधुरीका महिलाहरु बाख्रा पालनतर्फ लागेका छन् ।
अतिगरीब परिवारलाई छनोट गरेर संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा लघुउद्यमी विकास कार्यक्रमद्धारा वितरण गरिएको बाख्रा पालेर महिलाहरु आत्मनिर्भर हुँदैछन् । मदानेचौरका महिलाहरुले सिर्जनशील लघु उद्यमी समूहमा आवद्धता जनाउँदै वचत पनि गर्ने गरेका छन् । गएको कात्तिक महिनामा प्रत्येक घरका लागी दुई वटाका दरले वितरण गरिएको खरी जातका बाख्राको संख्या बढिरहेको छ । बाख्रा खरिदका लागी समूहका १५ जनालाई १०÷१० हजार रुपैयाँका दरले रकम दिइएको थियो ।
लघु उद्यमी समूहका अध्यक्ष तिर्था वादीले आम्दानी भएको रकम आफुहरुले अहिले छोराछोरीलाई पढाउनमा खर्च गरेको बताइन् । त्यस्तै स्थानीय गमीसरा वादीले आफुले बाख्रा पालनबाटै एउटा छोरीलाई निजी र अरु दुईवटा छोरालाई सरकारी विद्यालयमा पढाउने गरेको बताइन् । आफुले एक वर्षको अवधीमा समूहको नाममा पाँच हजार रुपैयाँ बचत गर्न सकेको पनि बताइन् ।
सृजनशील समूहको नाममा जम्मा भएको रकम लघु उद्यमी विकास कार्यक्रमले नै राष्ट्रिय वाणिज्य बैँकमा जम्मा गरिदिएको छ । समूहमा आवद्ध भएदेखि वादी महिलाले महिला विकास कार्यालयको समूहमा पनि मासिक एक सय रुपैयाँ वचत गर्ने गरेको वादी महिलाले बताए ।
वादी महिलाहरुले आफुहरुको समूहलाई सहयोग गरेमा सबै उद्यम गर्न सक्ने बताएका छन् । उनीहरुले बाख्रापालन सम्बन्धि तालिम को माग गरेका छन् । उनीहरुले आफुहरुलाई अन्य व्यवसायतर्फ पनि उन्मुख हुन मन लागेको बताए । तरकारी खेती, सिलाई कटाई लगायतका पेसामा उनीहरुले इच्छा देखाएका हुन् ।
लघु उद्यमी विकास कार्यक्रमका सुर्खेत–दैलेख कार्यक्रम अधिकृत राजकुमार राई पनि वादी समूदायका महिलाको निकै प्रशंसा गर्छन् । राईले वादी समुदायका महिलाले सिर्जनशील कामका लागी आफुसंग धेरै सल्लाह लिने गरेको र उनीहरु जिज्ञासु पनि बनेको बताए । तर उनीहरुले कतिपय महिलाले पालेका बाख्रा मरेकाले चिन्तामा परेको बताएका छन् ।
बाख्रा विरामी परेपछि पशुसेवा कार्यालय सुर्खेतको उपसाखा छिन्चुमा जानकारी गराउँदा पनि वेवास्ता हुने गरेको स्थानीय मीना वादीले गुनासो गरिन् । मीनालाई दिइएका दुईवटै बाख्रा मरेका छन् । यता, उपशाखा छिन्चुका कर्मचारीले वेवास्ता गरेको भए त्यसबारे बुझेर सेवा प्रभावकारी बनाइने जिल्ला पशुसेवा कार्यालय सुर्खेतका कुमार वि.सी.ले बताएका छन् ।
सिर्जनशील लघु उद्यमी समूहको जिल्ला उद्यमी विकास समितिका पदाधिकारीको टोलीले अध्ययन गरेको छ । अध्ययन पछि समूहको सक्रियतालाई सुर्खेत उद्योग बाणिज्य संघका विशिष्ट सदस्य मोति कंडेलले समूहका महिला अव आफै आत्म निर्भर बन्न सक्ने बताए । अध्ययनमा तथा अनुगमनमा जिल्ला विकास समितको कार्यालयबाट प्रेम रावत, घरेलुकी चित्रा डांगी, महिला तथा बालबालिकाको कार्यालयबाट चम्पा भणडारी,लघु उद्यमका विजय थापा, जिल्ला कृर्षिका दुर्गादत्त बसौला, पशु सेवा कार्यालयका कुमार विसि लगायत संलग्न रहेका थिए ।

No comments:

Post a Comment