Saturday, June 23, 2012


मालपोत कार्यालयको भवन नापीको कव्जामा
दीपक बुढा
सुर्खेत, असार ।
मालपोत कार्यालयको भवनमा नापी कार्यालय शाखा सुर्खेतले लामो समयदेखि कव्जा जमाएको छ । भवन प्रयोगका सन्दर्भमा दुई कार्यालयका वीचमा लामो समयदेखि विवाद समेत बढीरहेको छ । मालपोत कार्यालय सुर्खेतको स्वामित्वमा रहेको भवनमा नापी कार्यालय शाखा सुर्खेत २०६२ सालदेखि बस्दै आएको छ । भवन खाली गरिदिन पटक पटक गरिएको अनुरोध नापी कार्यालयले अस्वीकार गरेको छ ।
माथीबाट बार्षिक भाडा नबढेसम्म भवन खाली गर्न नसकिने नापी कार्यालयको प्रतिक्रिया रहेको छ । जिल्ला मालपोत कार्यालयको नाममा रहेको भवनमा जिल्ला नापी कार्यालय शाखा सुर्खेत २०६२ सालदेखि बस्दै आएको हो । भवनको भाडा नबुझाई नापीले हडपिरहेको छ । पटक पटक खाली गरिदिन लिखित देखि मौखिक जानकारी गराउँदा समेत अटेर गरेको बुझिएको छ ।
केही समयका लागि भनेर बसेको नापी कार्यालयले पटक पटक अनुरोध गर्दा पनि भवन खाली गरेको छैन् । नापी कार्यालयको भवन खाली गराएर मालपोतको सेवा प्रभावकारी बनाउँने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरलाई अनुरोध गरिएको थियो । प्रजिअ कुँवरले नापी कार्यालयलाई छुट्टै व्यवस्थापन गरी मालपोत कार्यालयको सेवामा प्रभावकारी बनाउन पहल गर्ने प्रतिवद्धता  जनाएका छन् तर कुनै पहल भने भएको छैन् ।
मालपोत कार्यालय सुर्खेतका प्रमुख मदनबहादुर जि.सी.ले भने ‘हाम्रो भवन फिर्ता चाहियो भनेको धेरै भयो तर हामी भवन अभावमा सेवा प्रभावकारी रुपमा दिन सकेका छैनौं अर्को तिर आफ्नो भवन नापी कार्यालयले हडपेको छ’ उनले भने ‘जिल्लादेखि विभाग सम्म जानकारी पठाएका छौं तर कुनै सुनुवाई भएको छैन् ।’
मालपोत कार्यालयले पाँच वटा शाखा एक जना कर्मचारीले एउटै कोठाबाट सेवा उपलब्ध गराईरहेका छन् । जिल्ला भवन अभावमा एउटै कोठामा पाँच वटा शाखा संचालन गर्न बाध्य भएको हो । जिल्लाको सबै भन्दाबढी सेवाग्राहीको चाप हुने मालपोतमा प्रयाप्त कर्मचारी र कोठाको अभावमा सेवामा ढिलासुस्ती हुने गरेको छ ।
प्रशासन, स्टोर, मुद्धा, नामसारी र भूमिसुधार शाखा एउटै कोठामा संचालन भैरहेको छ । ‘बढ्दो जनघनत्वका आधारमा कर्मचारी संख्या बढेको छैन् । प्रभावकारी सेवा दिनलाई भवनको समेत अभाव छ’–मालपोत अधिकृत मदनबहादुर जि.सी.ले भने ‘सानो भवनबाट सेवा प्रभावकारी हुन सकेको छैन् ।’
नौं कोठाको पुरानो मोडेलको भवन भएकाले सेवा सोचे अनुसार प्रभावकारी रुपमा प्रदान गर्न नसकिएको उनले बताए । दैनिक एक सय जना बढीको संख्यामा जग्गा रजिष्ट्रेसन, रोक्का, फुक्का सहितका सेवा उपलब्ध गराउने गरिएको उनले बताए । ‘कार्यालयमा दैनिक पाँच–सात सयको संख्यामा सेवा ग्राही आउने गरेका छन् । एउटै कोठाबाट धेरै सुविधा उपलब्ध गराउँदा भिडभाँड, काममा ढिलाई हुने गरेको छ, अहिलेको सेवाग्राहीको चाप हेर्दा २० वटा कोठा आवश्यक छ’– प्रमुख जि.सी.ले भने ‘आफैनै भवन पनि नापी कार्यालयले हडपेको छ ।’
नापी कार्यालयले कार्यालय संचालनार्थ घरभाडा वापत बार्षिक ७२ हजार रकम विभागबाट बुझदै आएको छ । पाँच कोठे भवन इत्राममा भाडामा लिएको नापी कार्यालयले दुई वटा कोठामा पुराना सामान थन्काएको छ भने अन्य कोठाहरु नापी कार्यालयकै कर्मचारीले प्रयोग गर्दै आएका छन् । कार्यालय संचालनार्थ भाडामा लिईएको उक्त भवनमा कर्मचारीहरुले आवास बनाएका छन् ।
नापी शाखा निमित्त प्रमुख लोकप्रसाद धमलाले भने ‘हाम्रो व्यवस्था नभएसम्म यो भवन छोडन सक्दैनौं । हामीलाई त पुगेको छैन् । माथीबाटै भवन नछोड्न निर्देशन आएको छ ।’ उनले थपे ‘इत्राममा भाडामा लिईएको घरमा नाप, नक्साका सामान र कर्मचारीहरुले प्रयोग गर्छन् ।’ कार्यालय घर भाडा लिनका लागि बार्षिक भाडाबृद्धि भएमा मात्रै भवन खाली हुने उनले बताए ।
२९  जना कर्मचारी दरबन्दी रहेको मालपोत कार्यालयमा हाल १० जना कर्मचारीमात्रै कार्यालयमा रहेका छन् । बाहिरबाट सरुवा भएर आउँने कर्मचारी पनि कार्यालयमा नआउँनु र मालपोतबाट सरुवा हुने कर्मचारी बाहिर जानुले कर्मचारी अभाव भएको हो । अन्य कार्यालयको तुलनामा मालपोतमा सेवाग्राहीको चाप बढी हुने, आर्थिक रुपमा पनि फाईदा नहुने भएकाले कर्मचारी मालपोत आउन नमान्ने समस्या रहेको मालपोत अधिकृत जि.सी.ले बताए ।
यता मालपोत कार्यालयमा बत्ती गएको समयमा पनि काम सुचारु गर्न व्याकअप र जेनेरेटरको व्यवस्था गरिएको छ । जेनेरेटर उपलब्ध गराएपनि इन्धन, मर्मत खर्च नहुँदा जेनेरेटर कार्यालयमा थन्किएको छ । ‘कार्यालयमा जेनेरेटर त आयो तर इन्धन खर्च आएन कसरी संचालन गर्ने’–कार्यालय प्रमुख जि.सी.ले भने ‘जिल्ला विकास समितिलाई अनुरोध गरेका छौं । स्थानीय विकास अधिकारी सकारात्मक हुनुभएको छ ।’ जिल्ला विकास समितिलाई लागत स्टीमेट पेश गरी मालपोतमा सोलार सिस्टम जडान गरी सेवालाई प्रभावकारी बनाईने मालपोत अधिकृत जि.सी.को भनाई रहेको छ ।

No comments:

Post a Comment