Tuesday, February 7, 2012

चेक खोस्न लागेपछि प्रहरी शरणमा
 
छिन्चु (सुर्खेत), माघ २५ -
स्वैच्छिक अवकाश रोजेर पाएको रकम बैंकबाट झिकेर निस्कन नपाउँदै आफ्नै कमान्डरहरूले खोस्न लागेपछि एक महिला लडाकु सुरक्षा गुहार्दै प्रहरी कार्यालय पुगेकी छन् ।
साटाखानी-२ की कर्मा रावत -विपना) ले मंगलबार छिन्चुस्थित कृषि विकास बैंकमा आफ्नो नामको चेक साटेर नगद लिन लाग्दा सँगै आएका कमान्डरबाट उक्त चेक खोसिने र हातपात हुने स्थिति आएपछि रकम पुनः खातामै जम्मा गरी सुरक्षाका लागि प्रहरी चौकी पुगेकी हुन् ।
कम्पनी सहायक कमान्डर कर्मा ३ लाख रुपैयाँको चेक बैंकमा जम्मा गर्न गएकी थिइन् । 'कमान्डरले पूरै रकम लैजाने भनेका थिए । मैले  १ लाखसम्म लैजाने भए दिन तयार छु भन्दा पूरै मागेपछि पैसा बैंकमा फिर्ता गरी सुरक्षाका लागि प्रहरीमा आएको हुँ,' उनले भनिन् ।
'लामो समयदेखि पार्टीमा लागेका गरिब/दुःखीले पाएको रकम लैजान दिनुस् भन्दासमेत मानेनन्,' उनले भनिन्, 'कमान्डरले पैसा खोस्ने स्थिति भएपछि बैंकमै जम्मा गरें ।' पछि पाउने ३ लाख रुपैयाँ लैजानु भन्दासमेत अहिल्यै दिनुपर्‍यो भन्दै कमान्डर बैंकसम्मै आएकाले सुरक्षार्थ प्रहरीमा गएको उनले बताइन् ।
उनलाई छुटाउन कमान्डरहरू प्रहरी कार्यालयमै पुगेका थिए । सुरक्षाकर्मीले जीउज्यानको सुरक्षा माग्दै आएको नागरिकलाई त्यत्तिकै पठाउन नमिल्ने भनेपछि उनीहरू फर्केका थिए ।
कमान्डरले स्वैच्छिक अवकाशबापतको चेक जबर्जस्ती खोसेपछि भुक्तानी रोक्न चेक हराएको भन्दै तीन माओवादी लडाकुले यसअघि कृषि विकास बैंक छिन्चुमा निवेदन दिएका छन् । चेक हराएको भन्दै बैंकमा निवेदन दिएका नोखबहादुर वलीले आफूसँग कमान्डरले २ लाख रुपैयाँ माग गरेकाले भुक्तानी रोक्न निवेदन दिएको बताए । उनले भने, 'मलाई ५० हजार मात्र दिन भनेपछि भुक्तानी रोकेको हो ।'
अनमिनले प्रमाणीकरण गरेपछि २०६६ मंसिर १ देखि शिविर छोडेर मटेलास्थित माध्यमिक विद्यालयको राहत दरबन्दीमा कार्यरत भएको बताउँदै वलीले भने, 'जागिर खाए पनि केही हुन्न भनेर वर्गीकरणमा बोलाए, अहिले पूरै पैसा मागे । जागिर खाएका कारण अख्तियारले नसमात्ने हो भने पूरै पैसा मैले पाउनुपर्छ, नत्र अरूले दुरुपयोग गर्नुभन्दा राज्य कोषमा रकम जम्मा हुनुपर्छ भन्ने मेरो मान्यता हो ।'
स्वैच्छिक अवकाशको चेक बुझेकामध्ये पाम्का-९ सुर्खेतका नोकबहादुर वली, रत्नबहादुर चलाउने र मानबहादुर चन्दले चेक हराएको भन्दै निवेदन दिएको कृषि विकास बैंक उपशाखा कार्यालयका प्रमुख गंगाप्रसाद चौलागाईंले बताए । डिभिजन सहायक कमान्डर दुर्गा चौधरीले भने, 'माथिको आदेशअनुसार यो सबै भएको हो ।' उनले थप अरू बताउन भने चाहेनन् ।
कमान्डरले चेक खोसेर लडाकुले पाएको रकम दुरुपयोग भएको जानकारी गराएपछि एकाउन्ट पेयी चेक जम्मा गर्दा र भुक्तानी लिँदा परिचयपत्रसहित आफैं उपस्थित हुन अनिवार्य गरिएको उपशाखा प्रमुख चौलागाईंले बताए ।
सुर्खेतको दशरथपुरस्थित छैटौं डिभिजनबाट स्वैच्छिक अवकाशमा घर जान चेक बुझेका सेक्सन सहायक कमान्डर मानबहादु चन्द (सन्दीप) ले चेक बुझेकै दिन पूर्ण झरना स्मृति ब्रिगेडअन्तर्गतको १२ नम्बर बटालियनका सहायक कमान्डरले खोसेको बताए । उनले आफूले पाउने पहिलो किस्ताबापतको २ लाख ५० हजारमध्ये आफूहरूलाई ५० हजार मात्र दिने भनेको पनि जनाए ।
पुनर्वर्गीकरणमा आएका तर शिविरमा नबसेका लडाकुमध्येबाट त्यस्तो रकम असुल गरिएको हुन सक्ने डिभिजन कार्यालयका एक कमान्डरले कान्तिपुरलाई बताए । ती कमान्डरले भने, 'विगतमा अनुशासनको कारबाहीमा परेकामध्येबाट त्यस्तो रकम लिएको हुन सक्छ, तर यकिन संख्या आउन बाँकी छ ।'
अर्का कमान्डरले भने स्वैच्छिक अवकाशमा गएका लडाकुहरूबाट लिएको रकम सदुपयोग हुन्छ/हुन्न भन्ने हेर्न बाँकी रहेको बताए । त्यस्ता करिब १ सय ५० लडाकु रहेको उनको अनुमान छ ।
 

No comments:

Post a Comment