Thursday, November 3, 2011

कृषक पाठशाला सञ्चालनपछि उत्पादनमा बृद्धि

तरकारीमा लाग्ने विभिन्न रोगको निराकरण गर्दै एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) गर्ने उद्देश्यले सुर्खेतका तीन गाविसका विभिन्न स्थानमा कृषक पाठशाला सञ्चालनमा आएका छन् । एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालनमा आएपछि कृषि उत्पादनमा बृद्धि भएको छ । मौसम अनुसार तरकारी लगाउने तरिका सिकाउने, तरकारीमा आएका समस्या समाधन गर्ने, विउँको उत्पादन गर्ने, कृषिमा आएको समस्यालाई समाधान जस्ता काम कृषक पाठशालामा गरिन्छ । कृषक पाठशाला सञ्चालन आर्थिक बर्ष २०६६ २०६७ देखि सुर्खेतका लाटीकोइली, छिन्चु र साहारे गाउँ विकास समितिमा सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
गाउँ–गाउँमा कृषक पाठशाला सञ्चालनमा आएपछि व्यावसायीक तरकारी खेति गर्ने कृषकको संख्या बढ्नुका साथै बार्षिक उत्पादनमा समेत बृद्धि भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क रहेको छ ।
कार्यालयका अनुसार गत आर्थिक बर्षमा सुर्खेतमा २६ हजार ८ सय ७८ मेट्रिटन तरकारी उत्पादन भएकोमा चालुआर्थिक बर्षमा २७ हजार ४ सय १९ मेट्रिटन तरकारी उत्पादन भएको छ । तथ्याङ्कका अनुसार विगतको तुलनामा तरकारीको उत्पादनमा बृद्धि भएको छ ।
आईपिएमले दिएको विउ, मल, परामर्श, तालिमबाट तरकारी तथा अन्य कृषि उत्पादनमा बृद्धि भएको बताउँछन लाटीकोइली–३ मनिकारपुरका अगुवा कृषक प्रेमबहादर चौधरी । उनले भने–“तरकारी खेतीबाट एक्दमै सन्तुष्ट छु, बार्षिक १ लाख २५ हजारभन्दाबढी आम्दानी हुन्छ । आइपिएम पाठशालाले गर्दा पहिलेको तुलनामा उत्पादन बृद्धि भएको छ ।”
आईपीएम कृषक पाठशाला  चौमासिक अवधिमा दोस्रो सिजनमा–९ वटा, तेस्रो सिजनमा–९ वटा कृषक सञ्चालन गरिएको थियो । कृषकहरुले लगाउने गरेका विभिन्न वालीनालीहरुलाई तिनका शत्रुहरुबाट वाली कटानी अघि र पछि भैरहेको ठूलो नोक्सानी (२०–३०) लाई कम गरी दिगो रुपमा कृषिजन्य वस्तुहरुको उत्पादकत्व बृद्धि गर्ने राष्ट्रिय लक्ष्य अनुरुप उक्त पाठशालाहरु संचालन गरिएको हो ।
स्थानीय कृषक फूलवस्या चौधरीपनि तरकारी खेतीबाटै आफ्नो परिवारको जिविकोपार्जन चलाईरहेको बताए । उनका अनुसार कृषक पाठशालामा साप्ताहिक रुपमा कृषकहरु भेला भएर तरकारी लगाउने तरीका, तरकारीको सुरक्षा, किटनाशक औद्यधिको प्रयोगका बारेमा छलफल गर्ने गरिन्छ ।
लाटीकोइली गाविसको बामेखोलामा आलुवालीमा १ वटा, लाटीकोइली गाविसकै वडा नं. ३ मा काउलीवालीमा १ वटा, छिन्चु गाविसको वडा नं. ७ मसिनामा काउली वालीमा १ वटा, सहारे गाविस वडा नं. ७ को भालुखोलामा काउली वालीमा १ वटा र सहारे गाविस वडा नं. २ थग्रेनीमा वन्दावालीमा १ वटा गरी ५ वटा आई.पि.एम कृषक पाठशाला संचालन भै रहेका छन् ।
संचालीत पाठशालाहरु मध्ये ३ वटा आई.पि.एम सहजकर्ताहरुबाट संचालन भै रहेका छन् भने २ वटा पाठशालाहरु प्राविधिक सहायक र नायव प्राविधिक सहायकहरुबाट संचालन भैरहेका छन् ।
पाठशालाहरुबाट १ सय २५ जना कृषकहरु प्रत्यक्ष सहभागि रहेका जसमध्ये ७० प्रतिशत महिला सहभागि रहेको जनाईएको छ ।
जैविक कृषि उत्पादन र उत्पादन लागत घटाउनको लागि आई.पि.एम. कृषक पाठशालाले धेरै ज्ञान दिएको प्रतिकृया कृषकहरुले दिएका छन् । वाली संरक्ष्ँण कार्यक्रमको अहम भुमिकालाई ध्यानमा राखी दिर्घकालीन कृषि योजनाले एकिकृत शत्रुजिव व्यवस्थापनलाई मुख्य केन्द्र विन्दुको रुपमा राखेको छ ।
विगत ४ बर्ष अगाडी देखि कृषि विभाग, वाली संरक्षण निर्देशनालय र एफएओको स“युक्त तत्वाधानमा देशका विभिन्न जिल्लाहरुमा राष्ट्रिय आईपिएम. कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मध्य नेपाल दर्पण राष्ट्रिय मासिकको बर्ष १ अंक २ मंसिरमा प्रकाशित

No comments:

Post a Comment