Thursday, November 3, 2011

आलुका गुरु खत्री, आम्दानीको स्रोत आलु

लाटीकोइली–३ मनिकारपुरका हर्कबहादुर खत्रीको आम्दानीको मुख्य स्रोत आलु खेती बनेको छ । २०५२ सालबाट व्यवसायीक आलु खेती गर्न थालेका खत्रीले थोरै जमिनबाटपनि परिवारको खर्च छुटयाएर बार्षिक ६० हजार सम्मको बचत गर्ने गरेका छन् । उनी आलु उत्पादन गर्ने कृषकका नामले मात्रै चिनिएका छैनन् ।  जिल्लाका एक आलु खेतीका गुरु समेत बनेका छन् । आलुको विउ उत्पादन र आलु खेतीको बारेमा राम्रो ज्ञान उनीसंग रहेको छ । उनी आलु खेतीबाटै मनग्य आम्दानी गर्न सफल भएका छन् ।

खत्रीले भने–“पहिले घर खर्च चलाउँनै मुस्किल पथ्र्यो व्यवसायीक रुपमा आलु खेती गर्न थालेपछि घर खर्च जुटाउन सजिलो भएको छ ।” उनीसंग रहेको १६ कठ्ठा जमिनमा बर्षमा दुई पटक प्रत्यक बालीमा ७ क्वीन्टर बरावर आलु लगाउने गरेका छन् । प्रति कठ्ठा ६० किलो आलुको विउ खपत हुने उनको सिकाई रहेको छ । तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न सकिने खत्री नमूना पात्र बनेका छन् ।
“छोरा छोरीलाई व्यवसायीक शिक्षा पढाएको छु । बार्षिक केहि रकम समेत बचत गर्ने गर्छु । खेत बाँझो बस्न पाउँदैन् । बर्षमा तीन बाली सम्म निकाल्ने गरेको छु ।”–उनको भनाई थियो । खेत बारीमा धान र गहुँ कम फल्न थालेपछि उनले व्यवसायीक आलु र अन्य ताजा तरकारी उत्पादनको बाटो रोजेका हुन् ।
जिल्लामा आलुको विउँ चिस्यान केन्द्र नहुँदा यस क्षेत्रका आलुको विउ उत्पादक कृषकहरुलाई समस्या भएको छ । बाँकेको कोहलपुरमा स्थापना भएको चिस्यान केन्द्रमा गाडीमा महंगो भाडा खर्च गरेर राख्नुपर्ने बाध्यता रहको कृषकहरुको भनाई रहेको छ । जिल्लामामै चिस्यान केन्द्रको स्थापना गर्न कृषकहरुले माग गरेका छन् ।
आलु उत्पादनबाटपनि लाटीकोइली गाविस र गर्पन गाविसका गरी झण्डै पाँच सयबढी कृषकहरु लाभान्वित भएका छन् । सुर्खेतको रानीमत्तामा फलेको आलु जिल्लामा लोकप्रिय रहेको छ । प्रतिविरुवाबाट पाँच केजिदेखि १० केजि सम्म आलु फल्ने गरेको छ । सिचाई सुविधा राम्रो पाएमा आलुको उत्पादन राम्रो हुने गरेको विज्ञको भनाई रहेको छ ।
खत्रीले आफ्नो अध्यक्षतामा २०६१ सालदेखि कृषि सहकारी समेत गठन गरेर कृषकहरुलाई सहुलियत दरमा आलुको विउ उपलब्ध गराउने, व्यवसायीक तरकारी खेती गर्न सहुलियत दरमा ऋण प्रदान गर्ने, नव आगन्तु कृषकहरुलाई आलु र तरकारी खेती गर्न  परामर्श दिने गरेका छन् । खत्री कृषकहरुको प्रेरणाको स्रोत बन्नुका साथै उनी  कृषकहरुका गुरु पनि भएका छन् । अगुवा कृषक भएर नयाँ कृषकहरुलाई परामर्श सिप सिकाउने गरेका छन् ।
जिल्लामा तीन दर्जनबढी कृषि सहकारी संस्थाहरु सक्रिय रहेका छन् । कृषि उत्पादनमा बृद्धि, व्यवसायीक तरकारी खेती, कृषकहरुलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने उद्देश्यले सहकारी संस्थाहरुले काम गरिरहेको कृषि सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसीले बताए ।
अन्य जिल्लाको तुलनामा सुर्खेतमा र  सुर्खेतकै अन्य गाविस भन्दा लाटीकोइली गाविसमा तरकारी उत्पादन तथा बजार व्यवस्थापनका लागि धेरै सहकारी संस्थाहरु स्थापना भएको उनले जानकारी दिए । कृषि सहकारी गाउँ गाउँमा खुल्न थालेपछि कृषकहरुलाई ऋणका लागि बैङमा जानुपर्ने बाध्यता हराएको छ ।

No comments:

Post a Comment