Thursday, November 3, 2011

सुर्खेतमा व्यवसायीक तरकारी खेती फस्टाउँदो

तरकारी कृषक भए गाडी मालिक
दीपक बुढा, सुर्खेत
(छिन्चु–हर्रे), मंसिर ।
टमाटर खेती गरेर कृषकहरु गाडी मालिक सम्म बने भन्दा अचम्म लाग्न सक्छ । तर टमाटर सहित अन्य तरकारी खेती गर्न थालेपछि छिन्चु–३ सानो हर्रे, ठुलोहर्रेका ६ जना कृषकहरुले व्यवसायीक तरकारी खेतीबाट भएको आम्दानीबाट बस किन्न सफल भएका छन् ।
अन्नबालि गर्दा बर्षभरी खान सम्म नपुग्ने कृषकहरु व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेपछि बार्षिक रुपमा घरखर्च चलाएर बचत समेत गर्न थालेका छन् । छिन्चु–३ का दुई सयबढी कृषकहरुले व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेका हुन् । “तरकारी खेती गर्न थालेपछि अर्काको मजदुरी गर्नुपर्ने बाध्यता हराएको छ । बार्षिक रुपमा प्रतिपरिवारले ५० हजारदेखि ३ लाख सम्म आम्दानी गर्ने गरेका छौं ।”–कृषक कमला खत्रीले बताईन । अन्नबालि गर्दा खान सम्म नपुग्ने कृषकहरुले व्यवसायीक तरकारी खेती गर्न थालेपछि बार्षिक रुपमा दुई लाख सम्म बचत गर्ने गरेका छन् ।

तरकारी कृषक दुर्गाबहादुर खत्री, टेकबहादुर खत्री, विरबहादुर खड्का, नरबहादुर खडका, डिलबहादुर वली र टेकबहादुर रानाले छुट्टा–छुट्टै बस किनेका छन् । सुर्खेत छिन्चु–३ हर्रेका कृषकहरुले टमाटर खेती गर्न  थालेपछि आम्दानीबाट गाडी मालिक सम्म बनेका छन् ।
घर खर्च कटाएर बचत रकमबाटै दुई वटा बस किनेको बताउँदै कृषक कमला खत्रीले टमाटर खेती हर्रे क्षेत्रको मुख्य खेती रहेको बताईन् । सिचाई सुविधा विनापनि टमाटर खेती गर्न सकिने र टमाटरको बजार मूल्य धेरै पाईने उनको सिकाई रहेको छ ।
टमाटर, खुर्सानी, गोपीको व्यवसायीक खेती गरिने छिन्चुको हर्रे, मुरली खोलाबाट उत्पादीत तरकारीलाई सहज रुपमा बजार व्यवस्थापन गर्नका लागि जिल्ला कृषि विकास कार्यालय सहित विभिन्न संघ संस्थाले तरकारी संकलन केन्द्रको स्थापना गरेका छन् ।
“गहुँ, मकै, धान खेती गर्दा बर्षभरी खान पुग्दैनथ्यो । बर्षभरीको खर्च जुटाउन भारत मजदुरी गर्नुपर्ने बाध्यता रहेको थियो । व्यवसायीक तरकारी खेती गर्न थालेपछि मजदुरी गर्न बाहिर जानुपर्दैन ।”–तरकारी कृषक पुष्पा खत्रीको भनाई थियो ।
पहिले घर खर्च चलाउन गाह्रो हुने गरेको तर हाल छोरा छोरीलाई बोडिङ विद्यालयमा पढाएरपनि बाहिर ऋण लगानी गरिरहेको उनले बताईन् । हर्रेमा तरकारी खेतीहरु मध्य टमाटर खेती बसैभन्दा राम्रो हुने गरेको छ । टमाटर खेतीका लागि उपयुक्त माटो भएकाले अन्य ठाउँको तुलनामा टमाटर धेरै फल्ने गरेको छ ।
प्रतिरोपनीबाट एक सिजनमा ५० देखि ७० हजार रुपैयाँ सम्म आम्दानी हुने र प्रति बोटबाट ८ देखि १५ केजि सम्म टमाटर फल्ने गरेको कृषकहरुको भनाई रहेको छ । स्थानीय स्तरमा उत्पादन भएको टमाटर कोहलपुर, नेपालगंज, छिन्चु, वीरेन्द्रनगर लगायतका स्थानमा खपत हुने गरेको छ ।
हर्रे, मसिना, मुरली खोलाका कृषकहरुले २०५२ साल देखि तरकारी खेती गर्न थालेपनि उनीहरुले व्यवसायीक रुपमा टमाटर उत्पादन गर्न थालेको भने पाँच सात बर्ष पुगेको छ । तरकारी खेतीलाई व्यवसायीक रुपमा विकास गर्न जिल्ला कृषि, सिप्रेट, सिमि नेपालले महत्वपूर्ण योगदान पु¥याएको कृषकहरुको भनाई रहेको छ ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जिल्लाका हर्रे, मसिना, तोलिखोला, साहारे, कुनाथरीका केहि स्थानलाई टमाटरको पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । तरकारी खेतीबाट सुर्खेतका कृषकहरुले बार्षिक १५ करोड रकमको कारोवार गर्ने गरेको कृषि विकास कार्यालयका योजना अधिकृत कमलकेशर खनालले जानकारी दिए ।
आर्थिक बर्ष २०६५,०६६ मा २७ हजार ३ सय मेट्रीटन तरकारी उत्पादन भएकोमा ७ हजार ८ सय पचास मेट्रीटन तरकारी जिल्लामै खपत भएको उनले योजना अधिकृत खनालले जानकारी दिए । तरकारी, खाद्य उत्पादनमा सुर्खेत आत्मनिर्भर रहेको भएपनि केहि गाविसमा भने खाद्यान्न संकट हुने गरेको छ ।
जिल्लाका लगाम, बेतान, तरंगा, छाप्रे, घाटगाउँ, पोखरीकाँडा गाविसमा खाद्य उत्पादकत्व कम रहेको जिल्ला कृषिको अध्ययनले देखाएको छ । सुर्खेतमा आलु, काँक्रा, टमाटर, खुर्सानी, भाँटा, बन्दा गोपि, काउलीको उत्पादन बढी हुने गरेको छ । तरकारी पहिले जिल्लामा ठुलो मात्रामा नेपालगंज, कोहलपुरबाट भित्रिने गरेको भएपनि अहिले बाहिरी जिल्लाको तरकारी विस्थापित भएर आफ्नै जिल्लाबाट ठुलो मात्रामा तरकारी बाहिरी जिल्लामा निकासी हुन थालेको तरकारी व्यवासयीले बताए ।

No comments:

Post a Comment