Saturday, December 3, 2011

क्षेत्रीयस्तरको वृद्धाश्रम निर्माणको तयारी
सुर्खेत
सुर्खेतमा क्षेत्रीयस्तरको वृद्धाश्रम निर्माण गरिने भएको छ । हाल जिल्लामा सञ्चालित तीन वटा वृद्धाश्रमहरु मिलेर संयुक्त रुपमा मध्यपश्चिमाञ्चल क्षेत्रीय वृद्धाश्रम निर्माण गर्न लागेका हुन् । क्षेत्रीयस्तरको वृद्धाश्रम निर्माणका लागि वृद्धाश्रमको नाममा कम्तिमा १० कट्टा जग्गा हुनुपर्ने भएकाले क्षेत्रीय स्तरको वृद्धाश्रम निर्माणमा केही ढिलाई भएको तर जिल्लामा रहेको तीनवटै वृद्धाश्रम मिलेर संयुक्त रुपमा क्षेत्रीय स्तरको वृद्धाश्रम निर्माणका लागि पहल भइरहेको उत्तरगंगा ८ तातापानीमा रहेको प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनले वृद्धाश्रमको नाममा १० कट्टा जग्गा बनाउन पहल भइरहेको र १० कट्टा जग्गा वृद्धाश्रमको नाममा भएमा क्षेत्रीयस्तरको वृद्धाश्रम निर्माणका लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन समेत दिएकोले तत्कालै काम अघि बढाईने बताए । ‘क्षेत्रीय वृद्धाश्रम निर्माणका लागि जिल्लाका तीनवटै वृद्धाश्रमबीच अनौपचारिक रुपमा छलफल भइरहेको छ’ अध्यक्ष श्रेष्ठले भने, ‘तत्कालै हामी यसका लागि ठोस निर्णय गरेर अगाडी बढ्छौ ।’
उनले क्षेत्रीय स्तरको वृद्धाश्रम निर्माणका लागि मन्त्रालय र केही स्थानीय समाजसेवीहरुबाट समेत सहयोगको आश्वासन पाएकोले काम अघि बढाईएको बताए । वृद्धअवस्थामा सन्ततीहरुले वेवास्ता गरेर तथा साहारा कोही नहुँदा समस्यामा परेका वृद्धवृद्धाहरुलाई निःशुल्क गास, बास र कपासको सुविधासहित वृद्धाश्रम निर्माण गरिने जनाइएको छ ।
स्थानीय समाजसेवी हिरालाल पन्तले उपलब्ध गराएको एक कट्टा जग्गामा पक्की भवन निर्माण गरिएको प्रशान्ती वृद्धाश्रमलाई नै विस्तार गरी क्षेत्रीयस्तरको बनाईने उनले जनाए । उक्त भवन निर्माणका लागि हालसम्म २९ लाख ५४ हजार ६ सय रुपैयाँ खर्च भइसकेको छ । भवन निर्माणका लागि जिल्ला विकास समितिले ११ लाख ५० हजार, उत्तरगंगा गाउँ विकास समितिले ४८ हजार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले ४४ हजार सहयोग गरेको जनाइएको छ । उक्त वृद्धाश्रममा हाल प्रत्येक हप्ता वृद्धावृद्धाहरुलाई जम्मा गरी भोजन गराउने, स्वास्थ्य परिक्षण गराउने तथा भजन कृतन गर्ने गरिएको छ ।

No comments:

Post a Comment