Thursday, December 1, 2011


दुर्गम भत्ता पाउने खुशीयालीमा अबिर जात्रा

निजामति कर्मचारी सरह दुर्गम भत्ता पाउने भएपछि जाजरकोटका शिक्षकहरुले अबिर जात्रा गरेका छन् । दुर्गम भत्ता दिने सरकारी निर्णयको स्वागत गर्दै शिक्षकहरुले अबिर जात्रा गरेका हुन् ।
सयुक्त शिक्षक संघर्ष समितिको पहलमा सदरमुकाम खलंगामा एक कार्यक्रम आयोजना गरी शिक्षकले सरकारी निर्णयको स्वागत गर्दै एक आपसमा खुशी साटासाट गरेका छन् । भत्ता पाउने खबरले खुुशी भएका शिक्षकले सरकारलाई धन्यबाद दिएका छन् । शिक्षकका पेशागत संघ संगठनले एक विज्ञप्तिमार्फत नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्च लगायतका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गरी २ बर्ष अघिको शिक्षक आन्दोलनमा सहयोग गर्ने विभिन्न संघ संस्था र निकायलाई आभार ब्यक्त गरेका छन् । आर्थिक, सामाजिक, शैक्षिक रुपले पछाडी परेको यस जिल्लामा कार्यरत शिक्षकलाई दुर्गम भत्ता दिने सरकारी निर्णयले राहत प्रदान गरेको उल्लेख गरेको नेपाल शिक्षक युनियनका अध्यक्ष ईलमबहादुर शाहीलले बताउनुभयो । दुर्गममा बसेर अध्यापन गरेपनि सरकारले सौतेनी ब्यबहार गरेको भन्दै दुई बर्ष अघि जाजरकोटमा शिक्षक आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दर्जनौं शिक्षकहरु घाइते भएका थिए । आन्दोलनका कारण २ महिना बढी जिल्लाको पठनपाठन बन्द भएको थियो ।
कर्णालीको शिक्षक सरह भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलन गरेपनि सुनुवाई हुन सकेको थिएन । आन्दोलनको क्रममा शिक्षकहरुले तत्कालीन अर्थ, शिक्षा, प्रधानमन्त्रीका साथै विभिन्न दलका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाएका थिए । त्यति बेला माग पुरा हुन सेकेको थिएन । ढिलै भएपनि माग पुरा भएको हामी नेपाल सरकार प्रति आभारी छौं नेपाल शिक्षक युनियनका अध्यक्ष शाहीले भन्नुभयो । सरकारको यो निर्णयले जिल्लाको शैक्षिक विकासमा टेवा पुग्ने अध्यक्ष शाहीको ठहर छ ।

No comments:

Post a Comment