Friday, December 9, 2011


शिक्षा क्याम्पसमा तालाबन्दी, प्रमुखको कुर्ची जलाईयो
सुर्खेत मंसिर । 
क्याम्पस प्रमुखले एकलौटी रुपमा आफ्ना नातेदारलाई क्याम्पसका विभिन्न पदमा नियुक्त गरेको भन्दै विद्यार्थीहरुले शिक्षा क्याम्पस सुर्खेतमा तालाबन्दी गरेका छन् । आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्चीसमेत जलाएका छन् । उनीहरुले कसैलाई पनि जानकारी नगराईकन एकलौटी र गोप्य तरिकाले आफन्तलाई नियुक्त गरेकाले उक्त निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।स्वतन्त्र विद्यार्थी युनियन शिक्षा क्याम्पस शिक्षाका सचिव सुशिल थापाले क्याम्पस प्रमुखले कसैलाई जानकारी विान एकलौटी रुपमा आफ्ना नातेदारलाई नियुक्त गरेकाले आन्दोलनमा उत्रिएको बताए । उनले खुला प्रतिस्पर्धाबाट नियुक्त गरिनुपर्ने पदहरुमा पनि प्रमुख एक्लैले आफन्तहरुलाई गोप्य रुपमा नियुक्त गरेको उनले आरोप लगाए । थापाले बुधबार ४ बजे भन्दा पछि प्रमुखले आफु निकटका व्यक्तिहरुलाई विभिन्न पदमा नियुक्त गरी हाजिर गराएको जानकारी दिए ।सचिव थापाले विद्यार्थीहरुले क्याम्पसमा कुनै पनि पदमा कर्मचारी नियुक्ति गर्दा सबैलाई सुचना गरेर खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नु पर्ने र सोही क्याम्पसमा पढको विद्यार्थीहरुलाई प्राथमिकता दिनुपर्ने माग गरे पनि क्याम्पस प्रमुखले विद्यार्थीहरुको मागलाई अटेर गरी क्याम्पसका अन्य प्रध्यापकहरुलाई समेत जानकारी नगराइकन आफन्तहरुलाई नियुक्त गरेको बताए ।क्याम्पस प्रमुखमा यही मंसिर २६ गतेबाट उनको ४ वर्षे कार्यकाल पुरा हुन लागेकोले आफ्नो अवकाश हुनुपुर्व नै आफ्ना नातेदारलाई विभिन्न पदमा जवरजस्ती नियुक्त गरेको समेत आरोप लगाए । उक्त निर्णय फिर्ता नलिए शसक्त आन्दोलनमा उत्रिने उनको चेतावनी छ । यस्तै त्रिभुवन विश्वविद्यालय प्रगतिशिल कर्मचारी संगठन इकाई कमिटी शिक्षा क्याम्पस सुर्खेतले पनि कर्मचारी नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी कमिटीले क्याम्पस प्रमुखले क्याम्पसलाई आफ्ना नातेदार भर्ती केन्द्र बनाएको भन्दै आपत्ति जनाएको छ ।विज्ञप्तिमा क्याम्पस प्रमुख बालाराम खड्का र कर्मचारी संघका सभापति डम्बर ढकालको मिलेमतोमा आफ्ना नातेदारहरुलाई नियुक्त गरेको आरोप लगाइएको छ । कमिटीका अध्यक्ष कृष्णबहादुर खड्काले क्याम्पसको हेडअस्टेनमा क्याम्पस प्रमुखकी बहिनी पुतला खड्का, लेखापालमा कर्मचारी संघका सभापति डम्मर ढकालकी भाञ्जी इश्वरी रेग्मी र बुकटेकरमा ढकालकै श्रीमती चन्द्रा ढकाललाई नियुक्त गरेको जानकारी दिए । उनले कुचिकारहरु पूर्णबहादुर सुनारलाई सिनियर प्लम्बरको तलब दिने गरी र विष्णु सुनारलाई टाइपिस्ट पदमा बढुवा गरेकोप्रति पनि विरोध जनाए ।सभापति खड्काले आयोगबाट बढुवा गरिनुपर्ने पदमा पनि क्याम्पस प्रमुखले आफै बढुवा गर्नुले क्याम्पस प्रशासनमा राजनीति गर्न खोजीएको बताए । क्याम्पस प्रमुख बालाराम खड्काले भने क्याम्पस प्रमुखलाई दिइएको अधिकार अनुसार नै कर्मचारी नियुक्त गरेको दावी गरे । उनले दैनिक ज्यालादारीमा तीन जना कर्मचारी नियुक्त गरेको बताए । खड्काले क्याम्पसलाई आवश्यक पदमा दक्ष व्यक्तिलाई नियुक्त गरेको समेत जनाए । ‘नातेदार होइन दक्षव्यक्ति नियुक्त गरेको हुँ ।’ उनले भने । खड्काले आन्दोलनमा उत्रिएका विद्यार्थीहरुसँग छलफल गरी चाडै समस्या समाधान गर्ने बताए ।

No comments:

Post a Comment