Thursday, December 22, 2011


स्कुलमा चार महिनादेखि तालाबन्दी



शिक्षक नियुक्ति विवादले पश्चिम सुर्खेतको लगामस्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा चार महिनादेखि ताला लागेको छ । तालाबन्दी भएपछि स्कुलका पठन–पाठनसमेत प्रभावित भएको छ ।
शिक्षक नियुक्तिमा भएको विवाद चर्किएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष मायाराम जैसी, प्राचार्य नरबहादुर बान्तोलासहित ९ जना शिक्षक विस्थापित भइ सदरमुकाम वीरेन्द्रनगर आएका
छन् । उनीहरुले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी स्थानीय एमाले र माओवादी कार्यकर्ताले ज्यान मार्ने धम्की आएकाले सुरक्षाका लागि भागेर सदरमुकाम आएको बताए । ‘शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म गाउ“मा फर्किन सक्ने अवस्था छैन,’ प्राचार्य वान्तोलाले भने, ‘यसको लागि राज्यले व्यवस्था मिलाउनुपर्छ ।’
विद्यालयमा रिक्त एकजना शिक्षक नियुक्तिमा भएको विवादका कारण विद्यालयमा तालावन्दी गरिएको हो । स्थानीय पत्रिकामा सूचना प्रकाशित गरी विद्यालयमा गत भदौ २९ गते शिक्षक नियुक्त गरिएको थियो । शिक्षक नियुक्तिका लागि भएको परीक्षामा असन्तुष्ट व्यक्तिहरुले सोही दिन विद्यालयमा तालाबन्दी गरेका थिए ।
लामो समयसम्म ताला नखोलिएपछि सुर्खेतका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिसहितको टोलीले विद्यालयमा पुगी छलफल गरेर ताला खोल्न निर्देशन दिएको थियो । निर्देशनपछि अभिभावकहरुको सहमतिमा गत कात्तिक १५ गते ताला खुलाइएको थियो । त्यसको भोलिपल्टै विद्यालयको ताला खोलिए पनि केही विद्यार्थीहरुले जुलुससहित नारावाजी गर्दै प्राचार्य बान्तोला र व्यवस्थापन समिति अध्यक्षको राजीनामा मागेका थिए । शिक्षक नियुक्तिको विषयलाई राजनीतिकरण गरेको र केही विद्यार्थीहरुलाई उचालेर प्राचार्य र व्यवस्थापन समिति अध्यक्षको राजीनामा माग्न लगाएको विद्यालयका प्राचार्य बान्तोलाले आरोप लगाए । उनले विद्यार्थीहरुलाई उचालेर केही व्यक्तिहरुले विद्यालयमा विवाद निकालेको बताए ।
शिक्षक नियुक्तिका साथै विद्यालयमा भ्रष्टाचार भएको आरोप लगाएर विद्यालयमा तालाबन्दी गरिएको थियो । प्राचार्य वान्तोलाले शिक्षक नियुक्ति पनि शिक्षा नियमावली र शिक्षक नियुक्ति प्रक्रिया अनुसार नै गरिएको बताए । उनले भ्रष्टाचारको आरोप निराधार भएको समेत बताए । विद्यार्थीहरुले आफूहरुमाथि प्राचार्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कुटपिट र दुव्यर्वहार गरेको आरोप लगाएको गलत भएको समेत बताए ।
केही दिनअघि सोही विद्यार्थीहरुले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी शैक्षिक मागहरु राख्दा प्राचार्य र विद्यालय व्यवस्थापन समितिले आफूहरुलाई कुटपिट गरेको आरोप लगाएका थिए ।

No comments:

Post a Comment