Saturday, December 17, 2011


अबदेखि शुक्रवारपनि ४ बजेसम्म पढाई

सुर्खेतका सामुदायिक विद्यालयहरुमा अबदेखि अन्य बारजस्तै शुक्रबारपनि अपरान्ह ४ बजेसम्म पढाउनुपर्ने भएको छ । यसअघि विद्यालयहरुमा शुक्रवार दिउ“सो १ बजेसम्म पढाइने गरिन्थ्यो । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका प्रधानाध्यापकहरुले अबदेखि शुक्रबारपनि अपरान्ह ४ बजेसम्म पढाउनुपर्ने र वर्षमा कम्तीमा २ सय २० दिन अनिवार्यरुपमा विद्यालय खोल्ने सामूहिक प्रतिवद्धता जनाएका छन् । जिल्लाको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि यस्तो व्यवस्था गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अबदेखि जिल्लाका सामुदायिक विद्यालयले वर्षमा २ सय २० दिन अनिवार्य रुपमा पढाउनु पर्नेछ भने शुक्रबार पनि चार बजेपछि मात्र विदा हुनेछ ।
जिल्ला शिक्षा कार्यालयको पहलमा तीन वटै निर्वाचन क्षेत्रमा सम्पन्न प्रधानाध्यापकहरुको भेलाले जिल्लामा शिक्षाको गुणस्तर बृद्धिका लागि विभिन्न २६ ब“ुदे प्रस्तावहरु समेत पारित गरेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले जानकारी दिएका छन् । अबदेखि विद्यालयमा शुक्रबारपनि चार बजेसम्म पढाई हुने भन्दै उपाध्यायले भने, ‘हामीले नया“ व्यवस्था गरेका छौं, यसले विद्यार्थीको ज्ञानलाई थप विस्तार गर्ने छ ।’ उनका अनुसार यो नियम लागू नगर्ने विद्यालयलाई कारवाही समेत गरिने छ । यस्तै स्थानीयरुपमा गरिने विदा र सार्वजनिक विदालाई पनि कटौती गरेर विद्यालयहरु संचालन गर्न प्रअहरु सहमत भएको उनको भनाइ छ । विभिन्न वहानामा विद्यालयहरु वर्षमा केही दिन मात्र खुल्ने गरेको भन्दै उनले भने, ‘अब हरेक विद्यालयले वर्षमा कम्तीमा पनि २ सय २० दिन पढाउनु पर्नेछ ।’
    यस्तै विद्यालयले नक्कली विद्यार्थी देखाएर रकम लिने परिपाटीको अन्त्य गर्नका लागि अब विद्यार्थीको फोटोसहितको विवरण शिक्षा कार्यालयमा पेश गर्नुपर्ने भएको छ । जिल्लाका प्रधानाध्यापक तथा शिक्षकका संघसंगठनहरुले समेत यसमा प्रतिवद्धता जनाएकाले यो पूर्णरुपमा लागू हुने शिक्षा कार्यालयको विश्वास छ । त्यसैगरी यस वर्षदेखि कक्षा १ देखि ९ सम्मको परीक्षा एसएलसी सम्पन्न भएपछि मात्र संचालन गरिने छ । एसएलसीभन्दा पहिले परीक्षा संचालन गर्दा विद्यार्थीहरु दुई महिनासम्म खाली बस्ने भएकाले यस्तो निर्णय गरिएको प्रअहरुले बताए । भेलाले अबदेखि अनिवार्य रुपमा शिक्षकहरुले पाठ योजना बनाएर मात्र कक्षामा जाने, विद्यार्थी र शिक्षकहरुले आचारसंहिताको पालना गर्ने तथा विद्यालयले दिने सेवा सुविधाको बारेमा जानकारी दिन सबै विद्यालयहरुमा नागरिक वडापत्र राख्ने निर्णयसमेत गरेको छ । विद्यालयमा हुने आर्थिक अनियमिततालाई रोक्न सामाजिक लेखापरीक्षण गर्ने, उच्च माविहरुमा तत्काल २ जना पूर्णकालीन शिक्षकहरु नियुक्त गर्नेलगायतका निर्णयहरु गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
    पहिलो चरण सामुदायिक विद्यालयहरुका लागि मात्र यस्तो व्यवस्था गरिएको भन्दै जिल्ला शिक्षा अधिकारी उपाध्यायले भने, ‘केही दिनमा नै हामीले निजी विद्यालयहरुसंग छलफल गर्ने तयारी गरेका छौं, निजी विद्यालयहरुमा समेत यो व्यवस्था लागू हुनेछ ।’ सबैको सामूहिक प्रयासले मात्र जिल्लाको शैक्षिक विकास हुने भन्दै उनले निर्णय कार्यान्वयन गर्नका लागि अनुगमनलाई कडाई गरिने बताए । शिक्षा कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ को प्रअहरुको भेला उच्च मावि मेहेलकुनामा, क्षेत्र नं २ को उच्च मावि नेवारेमा र क्षेत्र नं ३ को उच्च मावि बावियाचौरमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment